निर्धारित समयमा काम सम्पन्न गर्नका लागि समिति गठन

काठमाडौँ, मंसिर १८ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले समयमा नै काम सम्पादन गर्नका लागि पाँच समिति गठन गरेको छ ।

आयोगले पीडित परिवारलाई परिचयपत्र उपलब्ध गराउन र कारवाहीका लागि प्राप्त सिफारिशलगायत कामका लागि सो समिति गठन गरेको हो ।

भविष्यमा द्वन्द्व हुन नदिन संस्थागत सुधारको सुझाव तयारी समिति, परिपूरण सिफारिश मापदण्ड तयारी समिति, पीडकको बयान कार्यविधि तयारी समिति, बेपत्ता पीडित परिचयपत्र वितरण कार्यविधि तयारी समिति र कारवाही सिफारिश मापदण्ड समिति गठन गरिएको छ ।

उक्त समितिको संयोजकमा अध्यक्ष लोकेन्द्र मल्लिक, सदस्य विजुल विक दुलाल, प्रवक्ता प्रा डा विष्णु पाठकक, सदस्य नरकुमारी गुरुङ र अर्का सदस्य आइबहादुर गुरुङ रहेका छन् ।

आयोगले निर्धारित समयमा नै काम सक्नका लागि विभिन्न पाँचवटा समिति बनाएर काम अगाडि बढाइरहेको आयोगका प्रवक्ता प्रा डा पाठकले जनाए ।

५६ जिल्लामा बेपत्ता व्यक्तिको विस्तृत अध्ययन सम्पन्न गरिसकेको उक्त आयोगको म्याद आगामी माघ २७ गतेसम्म रहेको छ ।