छात्रामैत्री शौचालय अभावले छात्रालाई विद्यालय जान समस्या

नेपालगञ्ज, मंसिर २० । नेपालगञ्ज उपमहानगरपालिकाका प्रायजसो सामुदायिक विद्यालयमा अध्ययनरत छात्रा महीनावारीको समयमा विद्यालय नै जाँदैनन् ।

विद्यालयमा छात्रामैत्री शौचालय नहुनाले र सरसफाइका लागि पानीको अभाव भएकाले छात्राहरु विद्यालयमा उपस्थित हुन सक्दैनन् ।

यस्तो समयमा चाहेर पनि विद्यालयमा उपस्थित हुन नसक्नुले उनीहरुको अध्ययन प्रभावित हुने भएकाले यस्तो समस्याले उनीहरुमा मानसिक पीडाले पनि निकै नै पिरोल्ने गर्दछ । विद्यालयको शौचालय अत्यन्त फोहर हुने र प्याड फाल्ने स्थान र सरसफाइका लागि पानी अभाव हुने भएकाले महीनावारी भएका समयमा विद्यालयमा उपस्थित हुने नसकेको विद्यार्थीहरुको भनाइ छ ।

नेपालगञ्ज उपमहानगरपालिकामा कूल ४३ सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्राको संख्या पाँच हजार ७७६ रहेको छ । यहाँका केही सामुदायिक विद्यालयमा अहिले छात्रामैत्री शौचालय निर्माण भइरहेका छन् । तर, अझै थुप्रै विद्यालयमा छात्रामैत्री शौचालय निर्माण हुनसकेको छै्रन ।

नेपालगञ्ज उपमहानगरपालिकाले पञ्चवर्षीय परियोजना अन्तर्गत नगरका सामुदायिक विद्यालयमा छात्रामैत्री शौचालय निर्माण गर्ने योजना बनाएको शिक्षा शाखा प्रमुख मनप्रसाद रेग्मीले बताएका छन् ।

विशेषतः कक्षा ६ देखि १० सम्मका छात्रालाई सेनेटरी प्याड र छात्रामैत्री शौचालय विद्यालयमा नहुँदा उनीहरुको पठनपाठन प्रभावित हुने गरेको शिक्षिका मोहिनी योगीको भनाइ छ ।