विश्वशान्ति स्थापनामा सशस्त्र प्रहरी बल नेपालले महत्वपूर्ण भूमिका निभाइरहेको : गृहमन्त्री

काठमाडौं, पौष १ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा दुई दिनसम्म संचालन हुने ‘ईकाई प्रमुख सम्मेलन २०७५’ को आईतबार एक समारोहका बीच गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पानसमा द्विप प्रज्वलन गरी उद्घाटन गरेका छन् ।

सशस्त्र प्रहरी बल नेपाल स्थापनाको छोटो समयमै एउटा महत्वपूर्ण सुरक्षा संगठनको रुपमा स्थापित भएको उल्लेख गर्दै उनले देशभर रहेका सशस्त्र प्रहरी बल नेपालका इकाई प्रमुखहरु बीच आपसमा गहन छलफल र बिश्लेषण गरिने यस्ता सम्मेलनबाट महत्वपूर्ण निष्कर्षमा पुग्न सकिने बताए ।

गृहमन्त्री थापाले संगठनलाई प्राप्त जिम्मेवारीहरु पूरा गर्ने क्रममा विगतमा सम्पादन भएका कामकारवाहीहरुको सम्मेलनमा सूक्ष्म ढंगले समिक्षा हुने हुँदा आगामी दिनमा अझै परिस्कृत रुपमा अगाडी बढ्न र संगठनको सुदृढीकरणमा यसले महत्वपूर्ण भूमिका खेल्नुका साथै भविष्यमा आउन सक्ने सुरक्षा चुनौतीहरुको सामना गर्न समेत सहज हुने विश्वास व्यक्त गरे ।

उनले सीमा सुरक्षा, सीमा अपराध नियन्त्रण, विपद् व्यवस्थापन, राजश्व चुहावट नियन्त्रण लगायतका सशस्त्र प्रहरी बल नेपाललाई प्राप्त कार्यादेशहरुमा संगठनका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुबाट उल्लेखनीय कार्य सम्पादन भईरहेको चर्चा गर्दै अन्तर्राष्ट्रिय स्तरमा समेत विश्वशान्ति स्थापनामा सशस्त्र प्रहरी बल नेपालले महत्वपूर्ण भूमिका निभाइरहेको बताए ।

गृहमन्त्री थापाले यस्ता सम्मेलनबाट परिस्कृत भई आएका निष्कर्षबाट संगठनलाई आवश्यक नीति, रणनीति र योजना तर्जुमा गर्न मात्र नभई राष्ट्रिय सुरक्षा नीति निर्माणमा समेत महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

सोही अवसरमा गृहसचिव प्रेमकुमार राईले पुनसंरचना पश्चात देशका ७७ वटै जिल्लामा सशस्त्र प्रहरी बल नेपालको कार्यालयहरु स्थापना भएको र हुने क्रममा रहेको भन्दै सवै तहका कमाण्डरहरु उपस्थित हुने गरी आयोजित यस सम्मेलनले राष्ट्रको समग्र शान्ति सुरक्षाको वर्तमान अवस्थाबारे सुक्ष्म विश्लेषण हुने विश्वास व्यक्त गरे ।

उनले यस्ता सम्मेलनबाट बलका राष्ट्रसेवकहरुले कार्यक्षेत्रमा भोगेका व्यवहारिक समस्या, कठिनाई, सुरक्षा चुनौती र संभावित सुरक्षा चुनौतीहरु पहिल्याई ठोस योजना र स्पष्ट खाका सहितको कार्य योजना तयार गर्न महत्वपूर्ण सहयोग पुग्ने बताए ।

कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरु सीमानामा तैनाथ रहि राष्ट्रियताको जगेर्ना एवं नागरिकको सेवा, सुरक्षा, सहयोग र उद्धार गर्ने कार्यमा राज्यले सुम्पिएको दायित्व पुरा गरी आफुलाई प्रभावकारी ढंगले परिचालन गरेर कार्यक्षेत्रमा परिणाममुखी कार्य सम्पादन गर्दै आईरहेको बताए ।

उनले संगठनले मानवअधिकारको संरक्षण र संवद्र्धन, महिला तथा बालबालिकामा हुने हिंसामा शून्य सहनशीलता, भ्रष्टाचारमा शून्य सहनशीलता, लागूऔषध निषेध जस्ता सरकारका नीतिलाई कडाईका साथ अवलम्बन गर्दै आईरहेको उल्लेख गर्दै राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई ईमान्दार, कर्तव्यनिष्ठ, व्यावसायीक र अनुशासित भई कार्यक्षेत्रमा सक्रिय रहन निर्देशन समेत दिए ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले राष्ट्र, राष्ट्रियता, राष्ट्रिय अखण्डता र जनताका खातिर सशस्त्र प्रहरी कर्मचारीहरुले आफ्नो स्वार्थ र सुख सुविधालाई त्यागी नेपाल र नेपालीले सदैव गर्व गर्न सक्ने राष्ट्रसेवक बन्न सक्नुपर्ने बताए ।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम के.सी.ले स्वागत मन्तव्य तथा कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै व्यवस्थापनको क्षेत्रमा अत्यन्त महत्वपूर्ण मानिने सहभागिता मूलक नेतृत्वको माधयमबाट गरिने नीति निर्माण संसारभर सफल भएको चर्चा गरे ।

उक्त सम्मेलनमा देशभर रहेका सशस्त्र प्रहरी बल नेपालका ईकाई प्रमुखहरु वीच राज्यद्वारा संगठनलाई प्रदान गरिएका कार्यादेशहरुलाई प्रभावकारी ढंगले पुरागर्ने र संगठनले निर्धारण गरेको प्राथमिकताका क्षेत्रहरुभित्र रहेर गहन अध्ययन, प्रस्तुतिकरण र छलफल तथा समिक्षा हुने कुरा सो अवसरमा जानकारी गराईएको थियो ।

कार्यक्रममा सुरक्षा सल्लाहकार डा. ईन्द्रजीत राई, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणबाबु थापा र रामशरण पौडेल लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृतहरुले सहभागिता जनाएका थिए ।