कांग्रेस नेताद्वारा सरकारको ज्यादतीको चर्को आलोचना

काठमाडौं, पुस १२ । नेपाली काँग्रेसका पूर्वमहामन्त्री कृष्ण प्रसाद सिटौलाले सरकारको अराजक गतिविधि र कामको चर्को आलोचना गरेका छन् । उनले सरकारका क्रियाकलाप लम्पसारवादमा परिणत भएको समेत टिप्पणी गरेका छन् । सरकारको ज्यादती, त्रासदी अति भएको बताउँदै उनले भने, लोकसेवामा पनि सरकारले हस्तक्षेप गर्ने संकेत देखाएको छ ।

लोकसेवा जस्तो निष्पक्ष स्थानमा पनि सरकारले कब्जा गर्न खोजे कांग्रेसका लागि यो मान्य हुने छैन । सरकार अहिले संविधानको घेरा बाहिर गएको संकेत गर्दै उनले भनेकांग्रेस अक्ब प्रतिपक्षको भुमिकामा खरो रुय्पमा उत्रिन्छ । हालै सम्पन्न कांग्रेस महासमिति बैठकले नयाँ संरचना अनुसार विधान संसोधन गर्ने टुङ्गो लगाउने जानकारी गराउँदै उनले भने, महासमिति बैठकबाट आएको सुझाबको आधारमा विधान परिवर्तन हुन्छ । उनले संघीय संरचना अनुसार विधान बन्नु महासमिती बैठकको ठूलो उपलब्धि भएको जानकारी गराएका छन् ।

अबका दिनमा वडा तहबाट नै सदस्यता वितरण हुने र सो सदस्यताको टुङ्गो क्षेत्रिय कमिटी र जिल्ला कमिटीले नै टुङ्गो लगाउने भएकाले पार्टी भित्र विबाद कम हुने एवम् सदस्यता वितरणमा सबैको पहुँचमा पुग्ने उनले बताए । सिटौलाले निरास जनता तथा कार्यकर्ताको मनोबल उच्च वनाउनका लागि गाउँ गाउँमा कांग्रेस अभियान संचालनमा ल्याउने बताएका छन् ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले प्रजातान्त्रिक व्यवस्थाभित्र नेकपाका दुबै चालकहरु अभ्यास गर्न इच्छुक नरहेको बताएका छन् । महासमिति बैठकपछि पहिलो पटक कृष्णप्रसाद सिटौलासहितका नेताहरुसंग रहेर विचार सार्वजनिक गर्ने क्रममा थापाले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार संसद बैठकमा दिएको अभिव्यक्तिको खरो टिप्पणी गरेका हुन् । प्रचण्डले आफूहरुले सबै राम्रा काम गरेको र विपक्षीले आरोपमात्रै लगाएको बताएका थिए ।

प्रचण्डले एसिया प्यासिफिक समिटमा सरकारको सहआयोजनाको ढाकछोपमात्र गरेका थिएनन् क्रिसमसका दिन नागरिकले धर्म परिवर्तन गर्न पाउने अधिकार रहेको बताएका थिए । नेता थापाले धर्म वैयक्तिक बिषय भए पनि सनातन धर्मको रक्षा गर्ने दायित्व राज्यको भएको उल्लेख गरे । उनले सरकार समेत धर्म परिवर्तनको षडयन्त्रमा लागेको कांग्रेसको ठहर रहेको उल्लेख गर्दै यो षडयन्त्रको विरूद्ध कांग्रेस उभिने स्पष्ट पारका छन् ।

थापाले कम्युनिष्ट नेतामा सेट अप स्किल नै नभएको दावी समेत गरेका छन् । नेता थापाले काँग्रेसको महासमिति बैठकमा केन्द्रिय नेताहरुले आत्मसमीक्षा गरेको बताएका छन् । उनले पार्टी खुला सदस्यको बाटोमा गएको र आम जनतामा आश्रीत पार्टीको रूपमा कांग्रेस जाँदै गरेको जानकारी गराए । कतिपय सन्दर्भमा आत्मवोध गर्दै सार्वजनिक रूपमा क्षमायाचना पनि गर्नुपर्नेमा उनले जोड दिएका छन् । उनले मर्यादासमेत बिर्सिएर आरोप प्रत्यारोपमा उत्रिएका नेताहरूले त्यसलाई कम गर्दै महासमितिको सुखद अन्त्य भएको टिप्पणीसमेत गरका छन् ।

उनले कांग्रेसका नेताहरुले एकताको नाममा विधान उलङ्घन गरे कसैलाई मान्य नहुने बताएका छन् । विधानको सर्वोपरिता भित्र रहेर काम गर्न उनले जोड दिएका छन् । नेपाली कांग्रेसका तमाम नेता तथा कार्यकर्ताले अब केहि न केहि व्यावसाय अगाल्नु पर्ने अवस्था आएको बताउँदै उनले भने सदस्यहरुको जीवन अब पारदर्शी हुनुपर्छ । कार्यक्रममा केन्द्रीय सदस्य उमाकान्त चौधरी र शिव हुमागाइले पनि आफ्नो धारणा रारवेका थिए ।