भैसेपाटीस्थित जन उदय माध्यमिक विद्यालय पुगेकी ललितपुर महानगर पालिकाकी उपप्रमुख गीता सत्यालले पौष महिनाको चसो बढ्दै गइरहेका बेला त्यहाँका विद्यार्थीको अवस्था देखेर मन थाम्न सकिनन् ।
उपप्रमुख सत्याल सो विद्यालयमा पुग्दा विद्यार्थीहरु शिक्षकलाई ध्यान दिएर सुनिराखेका थिए । शिक्षकहरु पनि पढाउन तल्लिन थिए । उनलाई त्यहाँ देख्दा कोही विद्यार्थी छक्क परेका परे भने कोहीले उनलाई वर्षदेखि चिनेको व्यवहार गरे ।
विद्यालय अनुगमनका क्रममा त्यहाँ पुगेकी सत्याल चार कक्षा भित्र पसिन् । पुषको ठण्डीलाई छिप्पिदैं गएको घामले मत्थर बनाउन खोज्दै थियो । यस्तो मुटु काम्ने चिसोमा पनि पातलो सर्ट मात्रै लगाएका विद्यार्थी रितल लामा नजिक पुगिन् र उनले सोधिन्, ‘बाबु स्वीटर खै ?’ जव विद्यार्थीले जवाफमा आर्थिक अभावका कारण न्यानो लुगा किन्न नसकेको बताएपछि सत्यालले आफूलाई थाम्न सकिनन् र कक्षा कोठा बाहिर निस्किइन् । उनका बा मजदुरी गर्छन् । उनले भने,‘ ममी बिरामी भएर उपचार गर्दा गर्दै पैसा सकियो, स्वीटर किन्न पैसा छैन् ।’ उनी आमा मुटुको रोगी रहेछिन् । उक्त रोगको उपचार गर्दा जोहो गरेको सबै रुपैया सकिएको रहेछ । बाबुको कमाइले बिहान बेलुकाको छाक टार्नलाई निकै धौ धौ हुने उनले बताए ।
कक्षा ९ कि छात्रा निमा दुलालले विद्यालयमा ११ र १२ को कक्षा संचालन सुरु गर्न माग गरिन् । उनले उपप्रमुख गीतासँग भनिन् ,‘दश पछिको कक्षा पढ्न अरु स्कुल जानु पर्दैन थियो’, निमाका साथी आर्यन अधिकारीले पनि निमाको मागमा सहमति जनाए ।
उनले भने, ‘ यही प्लस टु पढ्न पाए पढाई अघि बढ्थ्यो, महानगरपालिकाभित्र रहेका विद्यालयका विद्यार्थीसँग भेटघाट गर्न र विद्यालयको अवस्था बुझ्न उपप्रमुख गीता उक्त विद्यालय पुगेकी थिइन् । विद्यालयमा उनलाई विद्यार्थीले विद्यालयको राम्रा र सुधार गर्नुपर्ने पक्ष पनि बताए ।
विद्यार्थीको समस्या र अप्ठ्यारालाई गम्भीरतापूर्वक सुनेकी उनले महानगरका तर्फबाट विद्यालय र विद्यार्थीलाई सहयोग गर्ने प्रतिबद्धता जनाइन् । उनले विद्यालयका प्रधानाध्यापक भनिन् , ‘विद्यालय प्रशासनमा सुधार ल्याउन सके, गुणस्तरीय शिक्षा दिन सकिन्छ, प्रशासन सुधार गर्न तर्फ ध्यान दिनुस् ।’
महानगरपालिकाले सामुदायिक विद्यालयको अनुगमन र विद्यार्थीसँगको भेटघाटलाई निरन्तरता दिने बताइन् । उनले विद्यार्थीका समस्यालाई गम्भीर रुपमा लिएर समाधान गर्न विद्यालय व्यवस्थापनसमितिसँग निर्देशन दिइन् ।
विद्यार्थीले उपप्रमुखसँग शौचालयको अपर्याप्तता, खेल मैदानको अभाव, खेलकुदका सामग्रीको अभावका बारेमा बताएका थिए । त विद्यार्थीले विद्यालयमा कम्प्युटर ल्याब भएपनि त्यसको प्रयोग नभएको गुनासो गरेका थिए । ल्याबमा गएर कम्प्युटरको प्रयोगात्मक कक्षा पढ्न नपाउँदा यो विषय राम्रोसँग बुझ्न नसकनेकोको गुनासो गरेका थिए ।
आठ कक्षाका विशाल मगरले आफूलाई कम्प्यूटरका बारेमा धेरै जान्ने इच्छा भएपनि ल्याब संचालन हुन नसक्दा त्यो पुरा नभएको बताए । एसइइमा राम्रो अंक ल्याउन नौ कक्षादेखि नै गहिरो र निरन्तर अध्ययन हुनुपर्ने बताउँदै नौ कक्षाकी निमाले ऐच्छिक गणित र विज्ञानको थप कक्षा व्यवस्था गर्न अनुरोध गरिन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवगोपाल थापाले विद्यालयमा प्लस टु शुरु गर्न प्रक्रिया अघि बढेको बताए । कक्षाको अभावमा ११, १२को कक्षा सुरु गर्न नसकिएको बताए । उनले भने, ‘ विद्यालयमा यी कक्षा अत्यावश्यक छन्, यी कक्षा जतिसक्दो छिटो सुरु गर्नुपर्छ । ’ विद्यालयका प्रधानाध्यापक मोदनाथ लम्सालले विद्यालयमा पढ्ने अधिकाशं विद्यार्थी विपन्न भएको बताए ।
अभिभावकको आर्थिक अवस्था न्यून हुँदा त्यसको असर उनीहरुको पढाई लगायत वृद्धि विकासमा परेको उनको भनाइ छ । प्लस टु संचालन अत्यावश्यक भएको बताउँदै उनले त्यसका लागि सहयोग गर्न अनुरोध गरे ।
ललितपुर महानगरपालिका शिक्षा समन्वय कर्ता लोक बहादुर खड्काले गुणस्तरीय शिक्षाका लागि विद्यालय र विद्यार्थीसँगसँगै अभिभावकको भूमिका समेत महत्वपूर्ण भएको बताउँदै भने, ‘ अभिभावकलाई शिक्षाको महत्व बुझाउन जरुरी छ ’ गरीबी झेलिरहेका उनीहरुलाई शिक्षाको महत्व बुझाउन कठिन भएपनि असंभव नभएको उनले स्पष्ट पारे ।
उक्त विद्यालयमा जम्मा चार सय ११ जना विद्यार्थी छन् । जस मध्ये दुई सय १८ जना छात्रा र एक सय ९३ छात्र रहेका छन् ।