कृषिमा आकर्षण बढाउनुपर्नेमा नेता पौडेलको जोड

दमौली, पुस १९ । नेपालका अधिकांश किसान कृषिमा निर्भर भए पनि यो पेशा अपहेलित हुन पुगेकाले कृषिलाई सम्मानित पेशा बनाउनुपर्ने नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन् ।

आज ब्यास नगरपालिका–६ सिसाघाटस्थित श्याम्घा साना किसान सहकारीको चौथो साधारणसभाको उद्घाटन गर्दै उनले भने– नेपाललाई किसानको देश भनिन्छ तर कृषि पेशा अपहेलित छ, धेरै मिहिनेत गरेर थोरै मात्र आम्दानी हुने भएकोले कृषि पेशा अपहेलित छ ।

जुन पेशाबाट बढी नाफा हुन्छ मानिस त्यही पेसामा आकर्षित हुने गरेको भन्दै नेता पौडेलले कृषिमा आकर्षण बढाउनुपर्नेमा जोड दिए ।

किसान र कांग्रेसको सम्बन्ध अत्यन्त नजीकको रहेको उनको भनाइ छ । विपन्नलाई सम्पन्न गराउने पार्टी कांग्रेस मात्रै रहेको उनले दाबी गरेका छन् ।

नेपालमा राजनीतिक क्रान्ति सकिएकाले अब आर्थिक क्रान्ति गर्ने पालो भएको र त्यो क्रान्ति कृषिबाटै सम्भव हुने उनले बताएका छन् । ब्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले नगरको समृद्धिमा सहकारी कोसेढुङ्गा बन्नुपर्नेमा जोड दिए ।

सहकारीका अध्यक्ष लालबहादुर पन्थको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ब्यास नगरपालिका–६ का अध्यक्ष सूर्यभक्त भण्डारी लगायतले कृषिमा आकर्षण बढाउनका लागि सरकारले योजना ल्याउनुपर्ने बताए ।