अवैध रुपमा भारतीय ‘अण्डा’मा भित्रिन थालेपछि निगरानी

चितवन, पुस २० । कुखुराको अण्डा भारतीय सीमा क्षेत्र हुँदै नेपाली बजार भित्रन थालेकाले नेपाल अण्डा उत्पादक संघले त्यसलाई रोक्नका लागि निगरानी बढाएको छ ।

संघको केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरुले नियमित रुपमा त्यस्ता बजारको अनुगमन गरी अवैध रुपमा अण्डा भित्रन नदिन सचेत गराएका छन् ।

सीमा क्षेत्रका बजारमा भारतीय सेतो अण्डा भित्रिएपछि नेपाली उत्पादन क्षेत्र प्रभावित बनेको संघका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलले बताएका छन् । कानूनी रुपमा हवाईमार्गबाहेक अन्यत्रबाट कुखुराजन्य पदार्थ आयात गर्न निषेध गरिएको कँडेलले बताए ।

यद्यपि लुकीछिपी सीमाका बजारमा अण्डा भित्रिन शुरु भएपछि केन्द्रीय समितिले नियमित अनुगमन गरिरहेको कँडेलको भनाइ छ । केन्द्रीय समितिले सशस्त्र प्रहरीको सीमा सुरक्षा बलका अधिकारीलाई भेट गरी अण्डा भित्रन नदिन अनुरोध गरेको उनले बताए ।

बर्दघाट, भैरहवा, परासी, महेशपुर, वीरगञ्ज, जनकपुर, सिराहालगायत क्षेत्रमा नियमित अनुगमन भइरहेको नेपाल अण्डा उत्पादक संघका केन्द्रीय सचिव मदन पोखरेलको भनाइ छ ।

देशका अन्य सीमा क्षेत्रका बजारमा पनि भारतीय अण्डा भित्रन नदिन सम्बन्धित क्षेत्रका सशस्त्र प्रहरी, व्यवसायी र कृषकलाई अनुरोध गरिएको उनले जनाए । प्रतिक्रेट रु ३६५ सम्म पुगेको अण्डाको फार्म मूल्य घटेर हाल रु २७० मा कारोवार भइरहेको पोखरेलले बताए ।

दुई वर्षअघि अण्डाको प्रतिक्रेट मूल्य रु ३६५ रहेको थियो । देशभरमा दैनिक ३५ लाख अण्डा उत्पादन हुने उनले बताए । जसमध्ये आधा चितवनमा उत्पादन हुँदै आएको छ ।

देशभरिका दुई हजार १०० खोरमा कुखुरा पालिँदै आएको छ । लेयर्स कुखुरापालनमा एक लाख ७० हजारभन्दा बढी मजदूर कार्यरत छन् ।

संघका केन्द्रीय अध्यक्ष कँडेलका अनुसार नयाँ प्रविधिसँगै थपिएको लगानीका कारण कुखुराजन्य क्षेत्रमा एक अर्ब लगानी पुगेको छ । जसको आधा लगानी अण्डा पार्ने कुखुरामा रहेको छ ।