‘फोहर प्रशोधन केन्द्र निर्माणको काम तीन महिनाभित्र सकिने’

नेपालगञ्ज, पुस २२ । निर्माणाधीन अवस्थामा रहेको फोहोर प्रशोधन केन्द्रको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–२३ हिरिमिनायामा बन्दै गरेको अत्याधुनिक ल्याण्डफिल साइट (फोहर प्रशोधन केन्द्र) को निर्माण कार्य अन्तिम अवस्थामा पुगेको हो ।

नगरप्रमुख डा धवलशम्शेर राणाले अब तीन महीनाभित्र यसको निर्माण सकेर यसलाई सञ्चालनमा ल्याउने बताए । नेपालगन्जले अब कम्तीमा ४० वर्षसम्म फोहरी शहरको नियति भोग्नु नपर्ने उनको भनाइ छ ।

अंग्रेजी वर्ष २०१८ डिसेम्बरमा निर्माण भइसक्नुपर्ने ल्याण्डफिल साइट निर्माणको शुरुवाती चरणमा जग्गा विवादका कारण ढिलाइ भएको थियो ।

जग्गा विवादका कारण पटकपटक म्याद थप गरिएकाले निर्माणमा ढिलाइ भए पनि अब त्यसो नहुने र तीन महीनाभित्र ल्याण्डफिल साइट सञ्चालनमा आउने नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले जनाए ।

एशियाली विकास बैंकको सहयोगमा एकीकृत शहरी विकास आयोजना अन्तर्गत रु ३३ करोड ८८ लाख २७ हजारको लागतमा ल्याण्डफिल साइटको निर्माण कार्य थालिएको हो ।