पूर्वमन्त्री राणाको पहलमा गोदावरी नगर क्षेत्रलाई लक्षित गरी एम्बुलेन्स सेवाको थालनि

ललितपुर, पुस २९ । गोदावरी नगर क्षेत्रमा हिजोबाट एम्बुलेन्स सेवाको शुभारम्भ गरिएको छ । गोदावरी नगरपालिका वडानम्बर १,२,३,४,१३ र १४ वडालाई सेवा प्रदान गर्ने उद्देश्यले युवा सशक्तीकरण समाज नेपाल तथा क्षेत्रीय सरकारी सञ्जालले एम्बुलेन्स सेवा शुभारम्भ गरेको हो । पूर्व अर्थ राज्यमन्त्री उदयशमशेर राणा, गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन, उप प्रमुख मुना अधिकारीले सयुक्त रुपमा रिवन काटेर एम्बुलेन्स सेवाको शुभारम्भ गरेका हुन् ।

ललितपुर क्षेत्र नम्बर १ का पूर्व सांसद एवम् पूर्व अर्थ राज्यमन्त्रिसमेत रहेका राणाको पहलमा भारत सरकारको सहयोग र राणाकै पहलमा एम्बुलेन्स गोदावरी नगर क्षेत्रमा भित्रिएको हो । एम्बुलेन्स सेवा शुभारम्भ तथा बृहत रक्तदान कार्यक्रम बोल्दै पूर्व मन्त्री राणाले निर्वाचनको नतिजा प्रतिकुल भएपनि आफ्नो क्षेत्रको विकासमा आफु निरन्तर लागिरहने जानकारी गराए ।

राणाले युवा सशक्तिकरण समाज नेपाल तथा क्षेत्रीय सहकारी सञ्जालले आर्थिक व्यवस्थापन गरेर गोदावरी क्षेत्रमा एम्बुलेन्स सञ्चालन गर्ने बताएपछि आफुले भारत सरकार मार्फत एम्बुलेन्स उपलब्ध गराएको प्रष्ट पारे । उनले स्वास्थ्य क्षेत्रमात्र नभई ललितपुरको समग्र विकासका लागि आफू सदैव सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन् । कार्यक्रमका विशेष अतिथि गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले पहिलेदेखि एम्बुलेन्स सञ्चालनमा ल्याइएका धेरै स्थानमा व्यवस्थापन राम्रो नहुँदा धेरै एम्बुलेन्स खिया लागेको स्मरण गर्दै प्रमुख महर्जनले एम्बुलेन्स व्यवस्थापनलाई नगरपालिकाको तर्फबाट सक्दो सहयोग रहने जानकारी गराए ।

उनले यस क्षेत्रमा रहेका सहकारी संस्थाले आफ्नो मुनाफाको केही प्रतिशत सामाजिक क्षेत्रमा खर्च गर्नुपर्ने प्रावधानअनुरुप सहकारी संघसंस्थाको मुनाफाको रकम एम्बुलेन्स सञ्चालनलाई सहयोग गर्न अनुरोध गरेका छन् । उपप्रमुख मुना अधिकारीले समुदायलाई अति आवश्यक पर्ने एम्बुलेन्स सेवा शुभारम्भ हुँदा स्थानीय जनतालाई लाभ मिलेको बताइन् । गोदावरी नगरपालिका वडानम्बर ३ वडा अध्यक्ष बालमुकुन्द घिमिरेले स्थायी रुपमा एम्बुलेन्स सञ्चालन गर्न वडाले कुनै कसुर बाँकी नराख्ने जानकारी गराए । क्षेत्रीय सहकारी सञ्जालका अध्यक्ष सुनन्द घिमिरेले मानव सेवा लागि प्रयोगमा ल्याइएको एम्बुलेन्स सेवा नमुनाको रुपमा सञ्चालन गर्ने बताए। युवा सशक्तीकरण समाज नेपालका अध्यक्ष बिजय सिलवालले समाजको उद्देश्य अनुरुप नै यस क्षेत्रमा एम्बुलेन्स सेवा सुरु गरिएको बताएका छन् ।

Lions club of kathmandu valley centinnial अध्यक्ष होमप्रसाद घिमिरेले गरिबी निवारणका लागि मानवजीवनलाई अत्यावश्यक पर्ने सेवा र सहयोग गर्न सदैव तत्पर रहेको जानकारी गराए । एम्बुलेन्स संचालन समितिका अध्यक्ष रमेश सिलवालले एम्बुलेन्स सेवा सञ्चालन र व्यवस्थापन गर्न गोदावरी नगरपालिका, जिल्ला सहकारी संघ, जिल्ला बचत संघ र गोदावरी नगरपालिका क्षेत्रभित्रका सहकारी संघसंस्था तथा प्रतिनिधिहरुले सहयोग गर्ने प्रतिवद्धता जनाएकाले सेवा सञ्चालन गर्न सम्भव भएको स्पष्ट पारे । एम्बुलेन्स सेवा नहुँदा लामो समयदेखि समस्या झेल्दै आएका गोदावरी लगायत आसपासका गोदामचौर, विशंखुनारायण, बडिखेल, ठैब झरुवाराशी लगायतका बासिन्दा सेवा सञ्चालन भएपछि बढी मात्रामा लाभान्वित हुने भएका छन् । यसक्षेत्रमा प्राथमिक स्वास्थ्य केन्द्र भएपनि सबै खाले उपचार सेवा नहुँदा अन्यत्र पढाउनु पर्ने बिरामीले सास्ती खेप्दै आएका थिए ।

गोदावरी नगर क्षेत्रमा एम्बुलेन्स ल्याउन मन्त्री राणा, युवा सशक्तीकरण समाज नेपाल तथा क्षेत्रीय सहकारी सञ्जाल बीच सहजकर्ताको भूमिका सामाजिक अभियान्ता वशिष्ठ अधिकारीले गरेका थिए । कार्यक्रममा बृहत रक्तदान कार्यक्रमको समेत आयोजना गरिएको थियो । कार्यक्रममा यस भेगमा एम्बुलेन्स उपलब्ध गराएकोमा युवा सशक्तीकरण समाज नेपाल तथा क्षेत्रीय सहकारी सञ्जालले पूर्वमन्त्री उदय शमशेर राणालाई कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरेको थियो । एम्बुलेन्स सेवा शुभारम्भ कार्यक्रम सकिएलगतै वृहत रक्तदान कार्यक्रम सुरु भएको थियो ।

कार्यक्रममा पूर्वअर्थ राज्यमन्त्री उदयशमशेर राणा, गोदावरी नगरपालिका वडा नम्बर १ का वडा सदस्य श्रीराज थापा, महानगरीय प्रहरी प्रभाग बाडेगाउँका प्रहरी निरिक्षक श्याम कुमार कटवाल लगायत ८० जनाले रक्तदान गरेका थिए । गोदावरी क्षेत्रमा गरिएको रक्तदान कार्यक्रममा सम्भवतः यो ठुलो रक्तदान कार्यक्रम हो । एम्बुलेन्स सेवा चाहिएमा ९८६३१९१६६६ वा ९८१३१०११०० मा सम्पर्क गरेर सेवा लिन सकिने छ ।