ललितपुर, पौष २९ । भूकम्पबाट तहसनहस ललितपुरका पुरातात्विक महत्वका सम्पदा पुनः निर्माणमा गुणस्तरीयता कायम राख्दै कसरी यथाशीघ्र सम्पन्न गर्न ललितपुर महानगरपालिकाका मेयर चिरीवावु महर्जनलाई अत्याधिक चिन्ताको विषय बनेको थियो । मेयर महर्जनले सरोकारवालाहरुसंग सधै भन्ने गरेका छन्, ‘सम्पदा पुननिर्माणमा टेण्डर प्रक्रियाबाट गरिनु हुँदैन, टेण्डरबाट गर्दा यसको गुणस्तरीयता र पुरातात्विक महत्व रहँदैन ।’ मेयर महर्जनले यो भाषणमा मात्रै भनेका होइनन्, राष्ट्रिय पुननिर्माण प्राधिकरण र हरेक सरोकारवाला निकायहरुसंग समेत पहल र समन्वय गर्दै आइरहेका थिए ।
मेयरको यही बुझाई र स्थानीयहरुबाटै उपभोक्ता समिति मार्फत गुणस्तरीय काम गरेर देखाउने प्रतिवद्धतालाई साथ दिन स्थानीयहरुले मंगलबजारको सम्पदा क्षेत्रभित्रको भीमसेन मन्दिर पुनःनिर्माणका लागि ‘भीमसेन मन्दिर पुनःनिर्माण सरोकार समिति समेत गठन गरिसकेका छन् । यही अवस्थामा आइतवार राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका ‘सिइओ’ सुशील ज्ञवाली मंगलबजारको सम्पदा क्षेत्रमा आइपुगे । साथैमा थिए ललितपुर महानगरपालिकाका मेयर चिरीवाबु महर्जन, ललितपुर महानगरपालिकाका सम्पदा सल्लाहकार डा. रोहित रञ्जितकार, अनी ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष तथा भीमसेन मन्दिर पुनःनिर्माण सरोकार समितिका संयोजक कृष्णलाल महर्जन ।
‘सिइओ’ ज्ञवालीले सम्पदा क्षेत्रको अवलोकन गर्दै गए, मेयर महर्जन र सम्पदा सल्लाहकार डा. रञ्जितकारले सम्पदा क्षेत्रको अवस्था, महत्व, पुनःनिर्माणमा भएका काम र अव के हुनु पर्छ भन्ने कुराहरु उल्लेख गर्दै गए । सम्पदा पुनः निर्माणप्रति मेयरले देखाएको चासो र चिन्तालाई मनन् गर्दै ‘सिइओ’ ज्ञवालीले हात मिलाउँदै भने, ‘ओके मेयर साप अगाडी बढ्नुस्’ ज्ञवालीको यो शव्द सुन्नासाथ मेयर हर्षित हुँदै टोल सुधार समितिका अध्यक्ष, उद्योग वाणिज्य संघका अध्यक्ष, सम्पदा सल्लाहकार र ज्ञवालीलाई हात मिलाउन प्रेरित समेत गरे । ‘सिइओ’ ज्ञवालीले सम्पदा निर्माणकालागि मेयरले लिएको हरेक चासोलाई सम्बोधन गर्ने प्रतिवद्धता समेत जनाउँदै भने, ‘यति धेरै चासो र चिन्ता लिनु हुने मेयर सापको कुरालाइ म हरतरहले सहयोग गर्छु ।
महत्वपूर्ण विषयहरु प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने निर्देशक समितिको बैठकबाटै पारित गराउँला, तपाई अगाडि बड्नुस् जे पर्छ, म त्यो सबै गर्न तयार छु ।’ सम्पदा अवलोकन गराउने क्रममा मेयर महर्जनले ज्ञवालीसंग भने, ‘‘सिइओ साप’ म मेयर हुँदा नै यो सम्पदा क्षेत्रको पुनःनिर्माणका सबै काम सम्पन्न गर्न चाहान्छु । यो सबै काममा दिलो ज्यान दिन तत्पर छु ।’ मेयरले यसो भन्दा ‘सिइओ’ ज्ञवालीले मुस्क्क हाँसेर समर्थन जनाए । महानगरका सम्पदा सल्लाहकार डा. रोहित रञ्जितकारले भिजन ट्वान्टी–ट्वान्टीभित्रै सम्पदा पुनःनिर्माण गर्न सकिएमा पर्यटकहरुको आकर्षणको केन्द्र ललितपुरको सम्पदा क्षेत्र हुने वताए ।