आर्थिक विकासमा पर्यटन क्षेत्रको योगदान महत्वपूर्ण : सभामुख महरा

काठमाडौँ, माघ १ । सभामुख कृष्णबहादुर महराले पर्यटन क्षेत्रको विकासमा आवश्यक कानूनी सुधारका लागि आफ्नो पूर्ण सहयोग रहने जानकारी गराएका छन् । नेपाल एशोसियशन अफ टुर्र एण्ड ट्राभल एजेन्ट (नाट्टा)को ५२ औँ वार्षिक साधारणसभाको अवसरमा मंगलबार आयोजित कार्यक्रममा महराले मुलुकको समग्र आर्थिक विकासमा पर्यटन क्षेत्रको योगदान महत्वपूर्ण रहेको चर्चा गरे ।

विश्वभरका पर्यटकलाई नेपालका बारेमा प्रचारप्रसार गरी नेपाल आउन अभिप्रेरित गर्ने कार्यमा सक्रिय नाट्टाले खेलेको भूमिका सराहनीय भएको उनले बताए । सभामुख महराले सम्भावना बोकेको देश नेपालको विकास गर्नका लागि नीतिगत, कानूनी क्षेत्रमा सुधार गर्नु जरुरी रहेको प्रष्ट पारे ।

नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले पर्यटन क्षेत्रलाई व्यवस्थित र मर्या्दित बनाउन प्रतिनिधि सभाको सदस्यको हैसियतमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पर्यटक मात्र आएर नहुने बताउँदै कार्कीले भने, गुणस्तरीय पर्यटक ल्याउनका लागि सरकारले पूर्वाधारको विकास गर्नु जरुरी छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्ण देवकोटाले धार्मिक पर्यटकीय दृष्टिकोणले पनि नेपाल महत्वपूर्ण गन्तव्यका रुपमा रहेकाले यसको प्रवद्र्धनमा लाग्न पर्यटन व्यवसायीलाई आग्रह गरेका छन् । उनले आर्थिक क्षेत्रको महत्वपूर्ण पाटो पर्यटन क्षेत्र भएकाले यसको विकासका लागि सबै जुट्नुपर्नेमा जोड दिएका छन् ।

नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दीपकराज जोशीले निजी क्षेत्रसँग सहकार्यमा अगाडि बढे मात्र पर्यटन क्षेत्रको विकास हुने जानकारी गराए । सरकारले पर्यटन क्षेत्रको विकासका लागि ठूलो सहयोग गरेको उनले सुनाए । नाट्टाका अध्यक्ष सिएन पाण्डेले विशाल जनसंख्या भएका भारत र चीनको पर्यटक ल्याउन सकेमात्र पनि पर्यटन क्षेत्रले मुलुकको पर्यटन क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।

सन् २०१८ मा झण्डै १२ लाख पर्यटक नेपाल आएकाले नेपालमा पर्यटन क्षेत्रमा थप उत्साह जागेको उनले बताए । अध्यक्ष पाण्डेले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउनका लागि सरकारले पूर्वाधार क्षेत्रमा लगानी गर्नु जरुरी रहेको जानकारी गराए । हवाई र विमानस्थलको विकास भएमात्र पर्यटन क्षेत्रको विकास हुनमा उनले जोड दिएका छन् ।

सोहि अवसरमा नाट्टाले विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान समेत गरेको छ । नाटा एचिभमेन्ट अवार्डबाट पर्यटन व्यवसायी अम्बिका श्रेष्ठ, सगरमाथा अवार्डबाट बुद्ध एयर कम्पनी प्रालिका अध्यक्ष वीरेन्द्रबहादुर बस्नेत र भाष्कर अवार्डबाट पर्यटन व्यवसायी योगेन्द्र शाक्य सम्मानित भएका छन् ।

मिडिया अवार्डबाट नेपाल टेलिभिजनका पत्रकार प्रदीप चापागाईँ, रिपब्लिका न्यूज डेलीका समाचारदाता अर्पणा आले, राष्ट्रिय समाचार समितिका समाचारदाता अच्युत रेग्मी, दैनिक नेपाल अनलाइनका सम्पादक माधव तिवारी र टुरिजम अनलाइनका सम्पादक प्रशान्त प्रधान सम्मानित भएका छन् । सम्मानित व्यक्तिहरुलाई जनही रु २५ हजार नगदसहित सम्मानित गरिएको छ ।