पाटनको हरिशङ्कर मन्दिर निर्माण कार्य तिव्र गतिमा

ललितपुर, माघ १ । पाटन दरबार क्षेत्रमा रहेका महत्वपूर्ण स्मारकमध्ये एक हरिशङ्कर मन्दिरको निर्माण आगामी वर्षसम्म सम्पन्न हुने भएको छ । मन्दिरको तल्लो तलामा काम सकिएको र माथिल्लो तलामा काम धमाधम भइरहेकाले एक वर्षमा सम्पन्न हुने पाटन स्मारक तथा दरबार हेरचाह कार्यालयले जानकारी गराएको छ ।

भूकम्पको एक वर्षपछि पाटन दरबार क्षेत्रका अरु स्मारकसँगै यस मन्दिरको पुनःनिर्माण शुरु भएको कार्यालयका प्रमुख काजीमान प्याकुरेलले जानकारी गराए । सो मन्दिर भूकम्पका कारण पूर्ण रुपले क्षतिग्रस्त बनेको थियो । तीनतले मन्दिरको निर्माणमा अधिकांश पुरानै सामग्री प्रयोग भइरहेको छ । काठमाडौँ उपत्यका संरक्षण कोष (केभिपिटी) ले सो स्थानको १२ स्मारकको पुनःनिर्माण गरिरहेकामा हरिशङ्कर मन्दिर पनि एक हो ।

यसअघि १० स्मारक सम्पन्न भइसकेको प्याकुरेलले बताए । यो मन्दिर र चार नारायण मन्दिरको काम भइरहेको छ उनले सुनाए । हिन्दू धर्ममा हरिशङ्कर भन्नाले आधा शिव र आधा विष्णुको स्वरुप मानिन्छ । यो मन्दिरको निर्माण सो स्थानका अरु धेरै स्मारकजस्तै १८औँ शताब्दीमा भएको थियो ।

पाटनका मल्ल राजा योग नरेन्द्र मल्लको छोरीले यो मन्दिर निर्माण गर्न लगाएको इतिहासमा उल्लेख छ । विश्व सम्पदा सूचीको ३५ औं स्थानमा सूचीकृत यस ठाउँमा केभिपिटीले गरेका काम एकपछि अर्काे सम्पन्न भए पनि गुठी संस्थानले ठेकेदारमार्फत गरिरहेको कामले गति लिन सकिरहेको छैन ।