च्याउखेतीबाट पन्ध्र लाखको आम्दानी, छोटो समयमा ने मनग्य आम्दानी

कञ्चनपुर, माघ १४ । नेपालको कञ्चनपुरको बेलौरी न.पा. क्षेत्रमा रु १५ लाखभन्दा बढीको कन्ये जातको च्याउ बिक्री च्याउ खेतीमा संलग्न किसानले गरेका छन् । नगरपालिकाको कृषि विकास शाखाबाट अनुदानमा बीउ र प्रविधिमा सहयोग पाएपछि एकसय किसानले च्याउ खेती गरेका थिए ।

किसानले सय वटा नमूना च्याउ घर बनाई च्याउ उत्पादन गर्दै आएको शाखाका प्रमुख रणबहादुर मल्लले जानकारी गराएका छन् । उनले भने,– च्याउ घरबाट किसानले ३० मेट्रिकटन च्याउ उत्पादन गरेका छन् । उत्पादित च्याउ सहजै स्थानीय बेलौरी बजारमा खपत हुने गरेको छ । बजारमा च्याउ रु २५० देखि रु ३०० प्रतिकिलोका दरले बिक्री हुने बताइएको छ । बजारमा च्याउको माग बढ्दो छ ।

मागअनुरुप किसानले च्याउ उत्पादन गर्न सकेका छैनन् । बजार भए पनि मागअनुसारको च्याउ उत्पादनका लागि किसानलार्ई अझै प्रविधिमा सहयोग गर्ने योजना बनाइरहेको कृषि प्राविधिक हरिश सेटीले बताए । उत्पादित च्याउ पछिसम्म बजारमा उचित मूल्यमा बिक्री गर्न र ‘सोलार ड्रायर’ प्रयोग गरी चिप्स बनाउने उद्योग स्थापना गर्न नगरपालिकासँंग सो शाखाले प्रस्ताव गरेको र यसबाट किसानको च्याउले मूल्य बढी पाउनाका साथै स्थानीय युवालाई रोजगारी पनि दिन सकिने शाखा प्रमुख मल्लले बताए ।

गत वर्ष १० किसानले मात्रै कृषि शाखाबाट रु दुई लाख अनुदान लिएर नमूना घर निर्माण गरी च्याउ उत्पादन गरेका थिए । ती नमूना घरबाट किसानले चार मेट्रिक टन च्याउ उत्पादन भएको बताए । च्याउ घरमा च्याउको व्यावसायिक उत्पादनमा लागेकी मीना चौधरीले च्याउको बीउ राखेको एक महीनाको अवधिमै च्याउ बिक्रीबाट रु एक लाखभन्दा बढी आम्दानी भएको जानकारी गराइन् ।

च्याउखेतीबाट आम्दानी बढ्दै गएकाले यसलाई थप प्रवर्धन गर्न कृषि प्राविधिकसँग सल्लाह लिन थालेको अर्का कृषक जयराम चौधरीले भने । छोटो अवधिमै बढी प्रतिफल दिने भएकाले च्याउखेतीतर्फ किसानको आकर्षण बढेको छ । च्याउ खेतीमा लगानी गर्ने हो भने छोटो समयमा ने मनग्य आम्दानी लिन सकिन्छ । वैदेशिक रोजगारमा दुख पाएर काम गर्नुभन्दा स्वदेशमा नै कृषि तर्फ यूवाहरुको जोश र जाँगरलाई पुँजी बनाई लगानी लगाउने हो भने देशसँगसँगै यूवाहरुको जीवनस्तरमा नै परिवर्तन ल्याउन सकिन्छ ।