चलचित्र ‘लभ स्टेशन’ मा जसिता र प्रदिपको जोडी

काठमाण्डौ, माघ २१ । चलचित्र जगतमा जल्दो बल्दो र चलेको नाम हो प्रदीप खड्का । उनी अभिनित चलचित्र ‘लभ स्टेशन’ को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । उक्त फिल्ममा प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङकोअभिनय रहेको छ । फिल्म चैत १ मा आउने फाइनल भएता पनि रिलिज डेट भने घोषणाको २४ घण्टामा नै निर्णय उल्टिएको थियो ।

यसपछि फिल्म चैत ८ र चैत २९ मा रिलिज हुने चर्चा थियो । अब फिल्म चैत २२ मा आउने पक्का भएको छ ।
‘लिलिबिली’ मा सर्वाधिक मन पराइएको जोडी प्रदीप र जसिताको प्रमुख भूमिका रहेका कारण यो फिल्म दर्शकमाझ निकै लोकप्रिय एवं प्रतिक्षीत बनेको छ ।

चलचित्रका निर्देशक उज्ज्वल घिमिरे रहेका छन् भने यस फिल्मको एउटा गीत केही दिन अगाडि मात्र भियतनाममा खिचिएको थियो । फिल्मको रोमान्टिक गीत ‘घाम जुन नै चाहिँदैन’ को छायांकन भियतनामको विभिन्न सुन्दर स्थानमा गरिएको यसका प्रस्तुतकर्ता गोविन्द शाहीले बताएका छन् । सो गीतमा प्रदीप र जसितालाई फिचर्ड गरिएको छ ।

उक्त गीत अगामी भ्यालेन्टाइनको अबसर पारेर २ फागुनमा रिलिज गरिने बताइएको छ । गीतको छायांकन सकेर निर्माण टोली शुक्रबार काठमाडौं आएको हो । रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाललगायतको पनि यस चलचित्रमा अभिनय रहेको छ भने, फिल्मलाई आलोक शुक्लाले खिचेका हुन् ।