ललितपुर, माघ २१ । ललितपुर महानगरपालिकाले पाटनको पूर्णचण्डी पोखरी जिर्णोद्धार गर्ने भएको छ। महानगरले सोमबार आयोजना गरेको ढुंङ्गेधारा संरक्षण तथा आकाशे पानी संकलन र पुनर्भरण विषयक अन्तरक्रियात्मक अभिमुखिकरण कार्यक्रममा महानगरका मेयर चिरीबाबु महर्जनले उक्त जानकारी दिएका हुन् ।
मेयर महर्जनले भने, ‘महानगरको ऐतिहासिक महत्वको यस पोखरी संरक्षणका लागि छिट्टै काम सुरु हुँदैछ। एक वर्षभित्र काम सक्ने योजनामा छौं।’ उनले पाटनको चिनारीको रुपमा रहेका पोखरी, ढुंङ्गेधाराको संरक्षणमा महानगर सचेत र गम्भीर भएको वताए। मेयर महर्जनले न्हु पोखरीको समेत जिर्णोद्धारको काम अघि बढेको जानकारी दिए। त्यसैगरी उपमेयर गीता सत्यालले आकाशे पानीको संरक्षण गरेर त्यसको पुनः प्रयोग गर्न सके प्रत्येक घरमा पानीको आधा समस्या समाधान हुने वताइन्। उनले घरको नक्सा पास गर्दा आकाशे पानीको संकलन र पुनर्भरण सहितको योजनामा आएकालाई विशेष छुट दिएर समेत यस तर्फ आकार्षित गर्न सकिने स्पष्ट पारिन्। यी विषयमा सम्बन्धित वडाले यसतर्फ गम्भीर भएर ध्यान केन्द्रीत गर्नु पर्ने उनको धारणा थियो ।
ललितपुर महानगरपालिकाका सामाजिक विकास समितिका संयोजक एवं वडा नं. २४ का अध्यक्ष दिनेश कार्कीले आकाशे पानीको संकलन र पुनर्भरण गर्ने हो भने ढुंङ्गेधारामा कहिल्यै पनि पानी नसुक्ने वताए। महानगरपालिकाले निर्माण गर्ने नीति तथा नियमहरु आकाशे पानीको संकलन र पुनर्भरण गर्न प्रोत्साहित गर्ने खालका विषयहरुलाई आधार बनाएर गर्नु पर्ने वताए।
त्यसैगरी स्थानीय सरकारले आफ्नो क्षेत्रमा भएका राजकुलो, पोखरी, ढुंङ्गेधारा लगायतलाई राष्ट्रिय सम्पदा घोषणा गर्नुपर्ने ढुंङ्गेधारा संरक्षण विज्ञ पद्मसुन्दर जोशीले वताए। उनले मठ, मन्दिर मात्रै सम्पदा नभएको वताउँदै पानीको यस्ता स्रोतहरु समेत सम्पदा भएको दावी गरे। उनले भने, ‘हिति प्रणाली, राजकुलो, ढुंङ्गेधारा, जलद्रोणी पनि सम्पदा हुन्, यीनलाई राष्ट्रिय सम्पदा घोषणा गरेर त्यसै अनुसारको नीति निर्माण गरी अगाडी बढ्नु पर्छ।’ पानीका यी स्रोतहरुको संरक्षण स्थानीय तहका क्लब र जनताबाट मात्रै नहुने वताउँदै यसलाई राजनीतिक विषय नै बनाउनु पर्ने स्पष्ट पारे। उनले राजनीतिक मुद्धा नै बनाएर संरक्षण गर्न सके त्यसको प्रभावकारिता बढि हुने दावी गरे।
जोशीले स्थानीय चाडपर्व र परम्पराले ढुंङ्गेधारा, पोखरीको संरक्षण र सम्बद्र्धन भएको वताए। उनले ऐतिहासिक महत्वका राजकुलो मासिनु, पोखरीहरु लोप हुनु, मानवीय कमजोरीले भएको वताए। उनले यस्तो हुनुमा दण्डहिनता प्रमुख कारक भएको स्पष्ट पारे। ललितपुर महानगरको भित्री शहरमा भएका हिटिहरुमध्ये सात वटा लोप भइसकेको, ४ वटा पूर्ण सुख्खा भएको वताए । एकीकृत शहरी विकास केन्द्रका सुदर्शन भण्डारीले आकाशे पानी संकलन तथा पुनर्भरणको सम्भावना तथा प्रविधिको वारेमा चर्चा गरे ।
आकाशको पानी संकलन गरेर प्रयोग गर्न सके पानीको समस्या धेरै हल हुने वताए । एकीकृत शहरी विकास केन्द्रको प्राविधिक समन्वयमा आयोजना भएको कार्यक्रममा महानगरको २९ वटै वडाका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो।