कला क्षेत्रले ललितपुरका वासिन्दाको आर्थिक उन्नति हुनु पर्नेमा जोड

ललितपुर, माघ २९ । विश्व कला परिषदले ललितपुरलाई ३५ औं हस्तकला नगरी घोषणा गरेसँगै ललितपुरका वासिन्दाको आर्थिक उन्नति हुनु पर्ने सरोकारवालाहरुले बताएका छन् । ललितपुर महानगरपालिकाले सोमबार आयोजना गरेको हस्तकला नगर बिषयक अन्तरक्रियात्मक कार्यक्रममा हस्तकलासँँग सम्बन्धित सरोकारवालाहरुले सो कुराको जानकारी गराएका हुन् ।

कला नगरीको आधार सांस्कृतिक पहिचान र नगरको आर्थिक अवस्था सुधार भएको प्रष्ट पार्दै उनीहरुले यसको जगेर्ना गर्दै महानगरपालिकाले स्पष्ट कार्ययोजना सहित लगानी गर्नुपर्नेमा जोड दिएका छन् । विश्व हस्तकला महासंघका एसिया प्यासिफिक क्षेत्रका उपाध्यक्ष धर्मराज शाक्यले हस्तकला मार्फत आर्थिक स्तर उकास्नका लागि ललितपुरमा उत्पादन हुने सामग्रीहरुलाई ‘ब्राण्डिङ’ गर्न ललितपुर महानगरपालिकाले उचित व्यवस्था गर्नुपर्ने वताए ।

महानगरले सो स्थानमा उत्पादित सामानलाई ‘ब्राण्डिङ ट्याग’ उपलब्ध गराएर राजश्व संकलन गर्ने तीर समेत ध्यान दिनुपर्नेमा जोड दिदै उनले भने, अन्तरक्रियामा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले हस्तकला नगरी घोषणा हुनु धेरै महत्वपूर्ण भएको वताएका छन् ।

ललितपुर विश्व कला नगरीमा घोषणा हुने नेपालकै पहिलो कला नगरी भएको बताउँदै उनले भने, यसको महत्व र गरिमालाई कायम राख्न हामीले गर्नुपर्ने सबै काम महत्व दिएर गर्छौ । उनले हस्तकलामा नयाँ पुस्तालाई आकर्षित गरेर समृद्ध ललितपुर बनाउन सकिने जानकारी गराएका छन् । उद्योग बाणिज्य संघ ललितपुरका अध्यक्ष कृष्णलाल महर्जनले नेपाल बाहिर निर्यात हुने ८० प्रतिशत हस्तकलाका सामग्रीहरु ललितपुरको उत्पादन भएको प्रष्ट पारेका छन् । यी सामग्रीहरुलाई विशिष्टिकृत गर्न सके हस्तकलाकर्मीहरुको आर्थिक अवस्था सुधार हुने उनले सुनाए ।

यसले निजी जीवनमा मात्रै नभएर महानगरको विकास र समृद्धिमा समेत सहयोग पुग्ने वताउँदै उनले भने, नयाँ पुस्तालाई हस्तकला क्षेत्रमा आकर्षित गर्न विशेष कार्यक्रम गर्नुपर्ने हुन्छ । उद्योग बाणिज्य संघका प्रतिनिधि रविन्द्र ताम्राकारले हस्तकलाई प्रवद्र्धन गर्न वडा स्तरमा नै कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् । उनले पुरानो सीप जोगाउन नयाँ पुस्तामा यसलाई हस्तान्तरण गर्नका लागि विशेष कार्यक्रम आवश्यक भएको जानकारी गराएका छन् ।

ललितपुर महानगरका पर्यटन सल्लाहकार दिलेन्द्रराज श्रेष्ठले पर्यटकलाई ललितपुरमा भित्र्याउन कल नगरी घोषणा महत्वपूर्ण भएको प्रष्ट पारेका छन् । उनले यो घोषणा ललितपुरलाई आर्थिक रुपमा समृद्ध बनाउन महत्वपूर्ण हुने दावी गर्दै योजनाबद्ध कार्यक्रम ल्याउन आग्रह गरेका छन् । ललितपुरलाई विश्व कला परिषदले ४ महिना अघि विश्वको ३५ औं कला नगरी घोषणा गरेको हो ।