काठमाडौँ, फागुन ६ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले करीब १२ हजार शाखा अधिकृतको समायोजन कार्य सम्पन्न गरेको छ । संघ, प्रदेश र स्थानीय तहमा करीब १२ हजार शाखा अधिकृत समायोजन गरिएको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले बताएका छन् ।
उनले प्रशासन, लेखा, राजश्व र शिक्षा सेवाको शाखा अधिकृतलाई समायोजन गरिएको जानकारी गराएका छन् । सरकारले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन कार्यलाई तीव्रता दिदै समायोजन कार्य सम्पन्न गरेको हो । यसअघि मन्त्रालयले सचिव, सहसचिव र उपसचिवलाई संघ, प्रदेश र स्थानीय तहमा समायोजन गरेको थियो ।
६६२ सहसचिवमध्ये संघमा ५६० र प्रदेशमा १०२ तथा उपसचिवमध्ये संघमा ८३६, प्रदेशमा आठ र स्थानीय तहमा चारको समायोजन गरेको थियो । मन्त्रालयले यही फागुन ३ गते समायोजन रोजेका सबै कर्मचारीको समायोजन गर्ने भने तापनि प्राविधिक कारण त्यो हुन नसकेको प्रष्ट पारेको छ । कृषि, वन, स्वास्थ्य र इञ्जिनीयर सेवाको शाखा अधिकृतको समायोजन गर्न भने बाँकी रहेको प्रवक्ता अधिकारीले जानकारी गराएका छन् ।
अधिकारीले सरकारले तीनै तहमा समायोजनका लागि गत पुस ११ गतेदेखि यही माघ २ गतेसम्म अनलाइन फाराम भर्ने समयसीमा तोकेको प्रस्ट्याए । सरकारले संघमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ कर्मचारी समायोजन कार्यलाई तीव्र रुपमा अघि बढाएको छ ।