काठमाडौँ, फागुन ७ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले २०७५ सालभित्रै स्ववियु निर्वाचन गरिसक्नुपर्नेमा जोड दिएका छन् । नेपाल पत्रकार महासंघ प्यूठान जिल्ला शाखाले मङ्गलबार नयाँबजार जुम्रीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले नयाँ शैक्षिक वर्षका लागि कार्यतालिकामा सुधार गर्न सरकार लागिपरेकाले यही शैक्षिक वर्षभित्रै स्ववियु निर्वाचन गरेर आगामी शैक्षिक वर्ष सुधारको वर्षको रुपमा अघि बढ्नुपर्ने बताएका छन् ।
साे कार्यक्रममा ऐन, नीति, नियम निर्माणका साथै समाजवादउन्मुख शिक्षा प्रणाली बनाइने उनको धारणा थियो । केही नीति पारित भएको केही निर्माणको क्रममा रहेको स्पष्ट पार्दै मन्त्री पोखरेलले शिक्षा क्षेत्रको विकासमा संघ, प्रदेश र स्थानीय सरकारको पनि साझा जिम्मेवारी भएको जानकारी गराएका छन् । त्यस्तै नेपालमा २०४६÷४७ को जनआन्दोलन पछि शिक्षा प्रणालीमा व्यापारीकरण भएकाले यसको सुधारका लागि प्रधानमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय शिक्षा आयोग गठनको तयारीमा सरकार रहेको उनले जानकारी गराएका छन् ।
शिक्षालाई श्रम, श्रमलाई सीप, सीपलाई उत्पादन र उत्पादनलाई समृद्धिसँग जोड्न सरकार समाजवादउन्मुख शिक्षा नीति निर्माणका साथै ८ कक्षासम्मको परीक्षा स्थानीय तह, एसइई प्रदेश र १२ कक्षाको परीक्षा संघीय सरकारले लिनेगरी व्यवस्था गर्न खोजिएको मन्त्री पोखरेलको धारणा रहेको छ ।
















