महाधिवेशनको समयावधि थप्न मिल्दैन – डा कोइराला

विराटनगर, फागुन १३ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीलाई कमजोर हुनबाट बचाउन महाधिवेशनको समयावधि थप्न नमिल्ने र कांग्रेसको १४औँ महाधिवेशन निर्धारित समयमै हुनुपर्ने बताएका छन् ।

नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टीलाई बलियो बनाउने कुरामा कसैलाई अप्ठ्यारो लाग्छ त्यो उसैको समस्या भएको बताएका छन् । त्यसता विषयमा आफ्नो केही भन्नु नभएको बताउँदै उनले भने, पार्टी सभापति शेरबहादुर देउवाले गैरजिम्मेवार भएर अभिव्यक्ति दिनु राम्रो संस्कार होइन । सभापति जस्तो जिम्मेवार व्यक्ति भएर अनावश्यक तर्क गर्दै हिड्न मिल्दैन ।

केन्द्रीय सदस्य डा कोइरालाले सङ्गठनलाई मजबुत बनाउन १४औँ महाधिवेशनका लागि केन्द्रीय समितिले अहिलेदेखि नै अभियानमा लाग्नुपर्ने बताएका छन् । उनले नेपाल विद्यार्थी संघमा भएको विवादले परिणाम राम्रो नदिने सङ्केत देखाएको र यस्ता कुराको व्यवस्थापनका लागि सबै एक ठाउँमा उभिनु पर्ने प्रस्ट्याएका छन् ।

उनले नेपाल विद्यार्थी संघमा लाग्ने विद्यार्थीको उमेरको हद ३२ वर्ष रहेको र यसलाई बढाउने वा नबढाउने कुरामा पार्टीमा छलफल भइरहेको जानकारी गराएका छन् । कोइरालाले न्यायपालिकालाई निरीह हुन नदिन र शान्तिसुरक्षालाई कसिलो बनाउन सरकार गम्भीर हुनुपर्ने औंल्याएका छन् ।