कार्यपालिका बैठकमा ल्याइने एजेण्डाका विषयमा उपप्रमुख नै अन्यौल

भरतपुर, फागुन १४ । स्थानीय तहको निर्वाचन भएको दुई बर्ष बित्न लाग्दा पनि स्थानिय तह भित्रका विवादित विषय यथावत देिखएका छन् । स्थानिय तहका प्रमुखले एकलौटि रुपमा मातहतका कार्यलय संचालन गरेकाले सेवाग्राहिदेखि सर्वसाधारण समेत मारमा पर्ने गरेका छन् । प्रमुख व्यक्तिहरु नै व्यक्तिगत स्वार्थ भन्दा माथि उढ्न नसक्दा विभिन्न समस्या पैदा हुने गरेको छ ।

त्यहि अनुरुप भरतपुर महानगरपालिकाका उपप्रमुख पार्वती शाह ठकुरीले महानगर प्रमुखले कार्यपालिका बैठक सञ्चालनमा आफूसँग समन्वय, सहकार्य नगरेको र एकलौटि रुपमा अघि बढेको बताएकी छिन् । उपप्रमुख ठकुरीले मंगलबार पत्रकार सम्मेलन गरी आफूले जिम्मेवारी निर्वाह गर्दा आइपरेका समस्या र महानगरपालिकाको अवस्थाका बारेमा जानकारी गराएकी थिइन् ।

कार्यपालिका बैठकमा ल्याइने एजेण्डा एकलौटी तरिकाले ल्याउने गरिएको प्रष्ट पार्दै उनले भनिन् समयमा जानकारीसमेत हुँदैन, एजेण्डामा कुनै विमति राख्दा ‘महानगर प्रमुखले चलाउने हो तपाईंले होइन’ जस्ता शब्द प्रयोग गर्ने गरिएको छ । महानगरमा लेखा समिति गठन नगरी अनियमितता बढेको, जिन्सी समिति गठन नगरिएको, महत्वपूर्ण समिति एकलौटी ढङ्गले गठन गरेर काम गर्ने गरेको, आस्था र विचारका आधारमा कर्मचारीलाई दुःख दिने काम गरिएको समेत शाहले अरोप लगाएकी छिन् ।

स्थानीय सरकार सञ्चालन ऐनमा प्राप्त उपप्रमुखको अधिकारलाई प्रयोग गर्न प्राविधिक तथा कर्मचारी महानगरले पर्याप्त नदिएको उपप्रमुख ठकुरीको गुनासो छ । नेपाली कांग्रेससँगको सहकार्यका कारण मेयर बनेकी रेणु दाहालको काम गर्ने शैलि र व्यावहार सारै नराम्रो भएको एक वडा अध्यक्ष बताउँछन् । सरकारको दुई तिहाइको दम्भ महानगरमा समेत देखिनु दुर्भाग्य भएको उनी बताउँछन् । मेयरको कार्यशैलिमा कुनै परिवर्तन नआए सहेर नबस्ने समेत उनले बताएका छन् ।