प्रजातान्त्रिक अधिकारमाथि हस्तक्षेप गर्न मिल्दैन – देउवा

भक्तपुर, फागुन २१ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातान्त्रिक अधिकारमाथि हस्तक्षेप गर्ने कार्य नेपाली कांग्रेसलाई स्वीकार्य नहुने चेतावनी दिएका छन् ।

नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्यसमितिले सोमबार चाँगुनारायण नगरपालिका सुडालमा आयोजना गरेको प्रजातन्त्र सेनानी लीलाबहादुर पण्डितको प्रथम स्मृतिसभामा बोल्दै देउवाले सरकारले प्रजातान्त्रिक अधिकारमाथि हस्तक्षेप गर्न लागिरहेको बताएका छन् ।

उनले कांग्रेसलाई यस्ता कुराहरु कहिल्यै स्वीकार्य नहुने समेत चेतावनी दिएका छन् । देउवाले सरकारले प्रेसमाथि पनि विभिन्न बाहनामा हस्तक्षेप र नियन्त्रण गर्न खोजेको आरोप लगाएका छन् । सरकारले गलत काम गरे कांग्रेसले यस्ता कामको पनि विरोध गर्ने जानकारी गराएका छन् ।

विसं १९९० मा भक्तपुरको सुडाल जितपुरफेदीमा जन्मिएका विसं २०११ बाट नेपाली कांग्रेसबाटै राजनीतिक यात्रा शुरु गरेका स्वर्गीय पण्डितले आन्दोलनकै क्रममा विसं २०१९ देखि २०३४ सालसम्म १६ वर्ष जेल जिवन विताएका थिए ।

प्रजातन्त्र ल्याउने पटक पटकको आन्दोलनमा सक्रिय सहभागी जनाएका पण्डितको गत २०७४ फागुन १ गते निधन भएको थियो ।