काठमाडौँ, फागुन २८ । यातायात व्यवस्था विभागले सात महीनादेखि यताका मात्रै ‘स्मार्ट’ चालक अनुमतिपत्र वितरण गर्न बाँकी रहेको जानकारी गराएको छ । झण्डै चार लाख सेवाग्राहीको अनुमतिपत्र छपाइका क्रममा रहेको यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले बताएका छन् ।
पहिले सेवाग्राहीले आवेदन दिएको एक वर्षसम्मको वितरण गर्न नसकिएकामा अहिले त्यो अवधि कम हुँदै गएको उनले प्रष्ट पारेका छन् । सात महीनामा छापिँदा पनि सेवाग्राहीलाई सुविधा नभएकाले त्यसमा सुधार गर्न लागिएको उनले बताएका छन् । सेवाग्राहीले राजश्व तिरेको कम समयमा चालक अनुमतिपत्र दिनका लागि प्रयास भई रहेको उनले बताएका छन् ।
सेवाग्राहीलाई आवेदन दिएको छोटो अवधिमा नै चालक अनुमतिपत्र वितरण गर्न १० लाख ‘कार्ड’ खरीद पक्रिया शुरु भएकोे विभागले जानकारी गराएको छ । विभागले एकै दिनमा धेरै अनुमतिपत्र छपाइकै लागि ‘मास प्रिन्टर’ खरिद गर्न लागेको जानकारी गराएको छ । ‘मास प्रिन्टर’ को एक दिनमा सातदेखि आठ हजारसम्म ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइ गर्ने क्षमता भएको बताइएको छ ।
अहिलेभन्दा तेब्बर क्षमताको उपकरण हुँदा त्यसले अहिले रहेको समस्या हटाउन सक्ने उनको धारणा छ । देशभरका कार्यालय विभागअन्तर्गत गए पनि अनुमतिपत्र छपाइ र सफ्टवेयरको काम भने विभाग आफैँले गरिरहेको छ । यातायात व्यवस्था कार्यालय, वाग्मती (हाल प्रदेश न) ३ कार्यालय) ले भने झण्डै १३ महीनादेखिको चालक अनुमतिपत्र वितरण गर्न बाँकी रहेको बताउँदै आएको छ ।