काठमाडौँ, चैत ११ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई चैतभित्र राजनीतिक मूलधारमा ल्याइने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । नयाँ बानेश्वरस्थित संसद् भवनमा सोमबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट निर्वाचित प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सांसदलाई सम्बोधन गदै प्रधानमन्त्री ओलीले विप्लव समूहको अतिवादी क्रियाकलापलाई अन्त्य गरिने जानकारी गराएका छन् ।
सके राजनीतिक तवरबाट नसके जेलमा बसालेर भए पनि राजनीतिक मूलधारमा ल्याइने प्रष्ट पारेका छन् । अहिले विप्लव समूहले कम्युनिष्टको सरकारलाई असफल बनाउने, लोकतन्त्रलाई धरापमा पार्न खोज्ने, विकासनिर्माणको काम हुन नदिने र सरकारको लक्ष्य समाजवादलाई अवरोध गर्न खोजेको जानकारी गराउँदै उनले भने, सहज भएर आए स्वागत गर्छौ नत्र अन्य कदम चाल्न सकिन्छ ।
जेलमा बसालेर भए पनि राजनीतिक मूलधारमा ल्याइने उनले जीकिर गरेका छन् । प्रधानमन्त्री ओलीले आफूहरुले कम्युनिष्ट भनेर विप्लवको समूहलाई सहिष्णुता देखाए पनि उनीहरुले भने आफ्ना नेतालाई मार्ने भनेर कार्यकर्ता खटाएको जानकारी गराएका छन् । उनले शान्ति प्रक्रियालाई चाँडो टुङ्ग्याउनका लागि सरकारले सबै पक्षसँग छलफल गर्दै सहमति गराउन थालेकोप्रष्ट पारेका छन् । उनले शान्ति प्रक्रियाको काम अव लामो समयसम्म राखेर कसैलाई खेल्न दिनुनहुने बताएका छन् ।
प्रधानमन्त्री ओलीले कानूनी संरचना तयार भइसकेकाले अब समुचित ढङ्गले अविलम्ब शान्ति प्रक्रियालाई टुङग्याउने जानकारी गराएका छन् । ओलीले आफ्नो निर्वाचन क्षेत्रमा सरकारले गरेका राम्रो कामको प्रचार गर्न तथा जिल्ला र क्षेत्रका जनतासँग सरकारले गरेका कामको बारेमा प्रचार गर्न र विपक्षीले लगाएका निराधार आरोपको खण्डन गर्न सांसदसँग आग्रह गरेका छन् । उनले आगामी वर्षको नीति र कार्यक्रमका लागि प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर आफ्नो क्षेत्रका योजना र बजेटको फेहरिस्त बोकेर फर्कन पनि सांसदसँग अनुरोध गरेका छन् ।
साथै प्रधानमन्त्री ओलीले सरकारले २५ वर्षे विकासको लक्ष्य बनाउन थालेको जानकारी दिँदै उक्त लक्ष्यलाई ध्यानमा राखेर समेत योजना ल्याउन सांसदसँग आग्रह गरेका छन् । उनले विस्तारै विश्व नै समाजवादतर्फ उन्मुख भइरहेको बेला नेपाल पनि समाजवादको ल्याउन सरकार दृढ छ भन्दै सामाजिक न्यायसहितको समाजवाद ल्याउन दिशामा सरकार क्रियाशील रहेको जानकारी गराएका छन् ।
नेकपाका अध्यक्ष ओलीले पार्टी एकताको कामलाई चाँडै टुङग्याइने समेत स्पष्ट पारेका छन् । पार्टीको सम्पूर्ण तहको एकीकरण उहिल्यै गरिसक्नुपर्ने बताउँदै उनले भने, एक महीनामा हुनुपर्ने पार्टी एकीकरणको काम दश महीनामा सकिएको छैन । अब पार्टी एकतालाई छिट्टै टुङ्ग्याउँदैछौँ । अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिकाबाट आउनेबित्तिकै एकतालाई टुङग्याउने उनले प्रतिवद्धता जनाएका छन् ।