बारको चुनावमा लोकतान्त्रिक समूहलाई राप्रपा निकट समूहको सहयोग : कस्ले मार्ला त वाजी

काठमाडौँ, चैत १५ । कानून व्यवसायीको छाता सङ्गठन नेपाल बार एशोसिएसनको निर्वाचनमा प्रगतिशील, पेशागत तथा समावेशी समूह र बृहत् लोकतान्त्रिक समूहबीच कडा प्रतिस्पर्धा हुने भएको छ ।

नेपाल बार एशोसिएनको चैत १६ गते शनिबार हुने २५ औँ केन्द्रीय कार्यसमितिको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी निकट कानून व्यवसायीको समूह ‘प्रगतिशील, पेशागत तथा समावेशी समूह’ र नेपाली कांग्रेस निकटका कानून व्यवसायी समूह ‘बृहत् लोकतान्त्रिक समूह’ बीच निकै कडा प्रतिश्पर्धा हुने अनुमान गरिएको छ ।

प्रगतिशील समूहका अध्यक्षका उम्मेदवार वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठलाई आफ्नो समूहका वरिष्ठ अधिवक्ता रमण श्रेष्ठको समूहबाट मत पाउन मुस्किल छ भने लोकतान्त्रिक समूहबाट अध्यक्षका उम्मेदवार अधिवक्ता सुनील पोखरेललाई आफ्नै समूहका वरिष्ठ अधिवक्ताको मत पाउन मुस्किल छ । दुवै समूहमा अध्यक्षका उम्मेदवारलाई टिकट लिने बेलामा भएको विवादका कारण दुवै समूहलाई आ आफ्नै समूहबाट चुनौती थपिएको हो ।

प्रगतिशील समूहमा बारको अघिल्लो निर्वाचनको सहमतिअनुसार वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठलाई टिकट नदिएकोप्रति असन्तुष्टि छ । अध्यक्षका उम्मेदवार दुवैलाई आ आफ्नो समूहको मत धरापमा परेपछि न्युट्रल रहेका मत जुन समूहले तान्न सक्छ , त्यही समूहले निर्वाचन जित्ने सम्भावना प्रवल रहेको छ । यी दुवै बलिया उम्मेदवार भएको हुँदा दुई समूहबीच चुनावी प्रतिस्पर्धा निकै कडा हुने देखिएको छ  ।

बारमा देशभर रहेका १० हजार ३१३ मतदाताले मतदान गर्नेछन् । दुवै समूहले आ–आफूले चुनाव जित्ने उद्घोष गर्दै चुनावी मैदानमा होमिएका छन् । प्रगतिशील समूहलाई मधेश केन्द्रित कानून व्यवसायी सङ्गठनको सहयोग मिलेको छ भने लोकतान्त्रिक समूहलाई राप्रपा निकट कानून व्यवसायीको सहयोग छ । चुनावमा दुवै समूहले बारलाई निष्ठा र प्राज्ञिक बार बनाउने एजेण्डा अघि सारेका छन् ।

लोकतान्त्रिक समूहका अध्यक्षका उम्मेदवार तथा बारका पूर्वमहासचिव पोखरेल पनि आफ्नो समूहले निर्वाचन जित्नेमा ढुक्क छन् । अहिलेसम्म बार नेतृत्व केन्द्रित भयो, नीति केन्द्रित हुन नसकेको उनको भनाई छ । अबको बार नेतृत्व केन्द्रित नभई नीति केन्द्रित हुने बताउँदै उनले भनेका छन्, त्यो लोकतान्त्रिक समूहको जीतबाट सम्भव छ । नयाँ कार्यसमितिको कार्यकाल तीन वर्षको हुनेछ ।