नेपालको अन्तर्राष्ट्रिय छवि उच्च : मन्त्री ज्ञवाली

काठमाडौँ, चैत १७ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ‘नेपाल लगानी सम्मेलन २०७५’ मा विदेशी समुदाय र लगानीकर्ताले नेपाललाई दक्षिण एशियाको उदाउँदो ताराका रुपमा चित्रित गरिएकामा आफूहरुलाई गौरवबोध भएको जानकारी गराएका छन् ।

रिपोर्टर्स क्लब नेपालको २१औँ वार्षिकोत्सवका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा मन्त्री ज्ञवालीले पछिल्लो समयमा नेपालको अन्तर्राष्ट्रिय छवि उच्च भएकाले सो सम्मेलनले नेपालको विकासका लागि थप प्रेरणा दिएको प्रस्ट्याएका छन् ।

सरकार स्पष्ट सोचका साथ आर्थिक सामाजिक रुपान्तरणको दिशामा अघि बढेको बताउँदै उनले भने, यसमा हामी छिमेकी भारत र चीनको सहयोग लिँदै अन्तर्रा्ष्ट्रिय समुदायको साथ पनि लिएर अघि बढ्ने छौँ ।

मन्त्री ज्ञवालीले नेपाललाई कुनै मुलुकसँग वैरभाव नगर्ने र सबैसँग मित्रभाव राख्ने विदेश नीतिको निरन्तरतासहित समृद्धिको यात्रामा अघि बढाउन सञ्चार क्षेत्रको पनि उत्तिकै सहयोगको अपेक्षा लिएकाने जानकारी गराएका छन् ।

गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले मुलुकमा समृद्धिका लागि उचित वातावरण मिलेका जानकारी गराउँदै विदेशीको मुख मात्र ताकेर बस्न नहुने र नेपालीहरु नै जागृत भएर आर्थिक विकासमा लाग्नुपर्नेमा जोड दिएका छन् ।