प्रहरीद्वारा प्रदर्शनमा हस्तक्षेप : नेविसंघका ११ जना पक्राउ

काठमाडौँ, चैत १७ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) आवद्ध ११ जना नेता–कार्यकर्ता विद्यार्थीलाई प्रहरीले मध्य बानेश्वरको एपेक्स कलेज अगाडि प्रदर्शनका क्रममा नेविसंघका प्रहरीले आइतबार पक्राउ गरेको छ ।

पोखरा विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुको लापरवाहीका कारण परीक्षार्थी परीक्षा दिन वञ्चित भएको विरोधमा प्रदर्शन गरिरहेका विद्यार्थी नेतालाई प्रहरीले धरपकड गरेको नेविसंघका निवर्तमान केन्द्रीय सदस्य सुशील भट्टले जानकारी गराएका छन् । पोखरा विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुको लापरवाहीका कारण तीन सयभन्दा बढी विद्यार्थीको भविष्यमाथि खेलबाड भएको उनको भनाइ छ ।

प्रहरीले प्रदर्शनका क्रममा नेविसंघका नेताहरु नवराज त्रिपाठी, मनिष सिंखडा, चेतराज कँडेल (सुजन), पौल बज्राचार्य, अर्वत खड्का, केयुर न्यौपाने, कृष्ण पुडासैनी, सरोज थापा, प्रशान्त थापा, दिपेश ओली, निराज घिमिरे र सुरज ऐरलाई पक्राउ गरेको उनले बताएका छन् । परीक्षाबाट वञ्चित गरिएको विरोधमा विद्यार्थीले एपेक्स, टाईम्स, राजधानी लगायतका कलेजमा ‘माफिया’ शब्द उल्लेख गर्दै पेन्टिङ समेत गरेका थिए ।