संविधान कार्यान्वयनलाई पूर्णता दिन स्थानीय निकाय, प्रदेश र केन्द्रको निर्वाचन : खनाल

इलाम, साउन २४ । संविधान कार्यान्वयनको कामलाई पूर्णता दिनका लागि मुलुक निर्वाचनमय बनेको नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले बताएका छन् ।

उनले भने–मुलुक अहिले निर्वाचन वर्षका रूपमा अघि बढिरहेको छ । सोमबार इलामको कोल्बुङमा आयोजित कार्यक्रममा बोल्दै उनले संविधान कार्यान्वयनको महत्वपूर्ण कार्यलाई पूर्णता दिलाउनका लागि स्थानीय निकाय, प्रदेश र केन्द्रको निर्वाचन सम्पन्न गर्न गइरहेको बताए ।

स्थानीय तहको दुवै चरणको निर्वाचनमा एमाले पहिलो भएको र तेस्रो चरणमा पनि एमाले नै पहिलो हुने नेता खनालले दावी गरे । उनले सरकारले प्रदेश र संघको निर्वाचन मिति तोक्न ढिलाइ गरेकामा आफ्नो पार्टीको आपत्ति रहेको जनाए ।

चुनावपछि मुलुक आर्थिक समृद्धितर्फ अघि बढ्ने विचार व्यक्त गर्दै खनालले इलाम पर्यटनको सम्भावनायुक्त जिल्ला भएकाले विकास निर्माणमा तीव्रता दिनुपर्ने उल्लेख गरे ।