व्यावहारिक शिक्षा नभएकाले वर्तमानको जनशक्ति बेरोजगार : मन्त्री पोखरेल

काठमाडौं, चैत्र २९ । शिक्षालाई व्यावहारिक बनाउन आधारस्तम्भ तयार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेले गरिसकेको जानकारी गराएका छन् । आज टङ्गाल माध्यमिक विद्यालय, हाँडीगाउँको ५६ औँ वार्षिकोत्सव कार्यक्रममा उनले शिक्षालाई परिवर्तन गर्नका लागि व्यावहारिक शिक्षा बनाउन लागिएको समेत जिकिर गरे ।

अब ती आधार स्तम्भलाई टेकेर देशभरि नै हामी प्राविधिक शिक्षा लागू गर्ने तयारीमा रहेको उनले बताए । नेपालको शिक्षा प्रणाली व्यावहारिक नभएकाले परिवर्तन गर्न आवश्यक रहेको मन्त्री पोखरेलले स्पष्ट पारे ।

अहिलेको शिक्षामा व्यावहारिक शिक्षा नभएकाले वर्तमानको जनशक्ति बेरोजगार हुनुपरेको उनको तर्क थियो । उनले सरकारले परिमाण देखिने गरी विकासका आयोजना गर्न थालेको समेत जानकारी गराए ।

जनताले अब विकासका परिमाण कुर्न धेरै समय पर्खनु नपर्ने र चाँडै नै सरकारले देखिने गरी विकास निर्माणका काम गर्ने समेत जिकिर गरे ।

उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राजेन्द्र अधिकारीले विद्यालयले शिक्षा क्षेत्रमा पु¥याएको योगदानको चर्चा गर्दै विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बताएका छन् । उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई कार्यक्रममा मन्त्री पोखरेलले सम्मान समेत गरेका थिए ।