ललितपुर, वैशाख २३ । गोदावरी नगरपालिकाका नगरप्रमुख गजेन्द्र महर्जनले आफूले नगरपालिकाबाट पाउने एक वर्ष बराबरको पारिश्रमिक विद्यालयलाई प्रदान गर्ने घोषणा गरेका छन् । गोदावरी नगरपालिका वडा नम्बर १२ ठेचोमा अवस्थित श्री सरस्वती माध्यमिक विद्यालयले ५० वर्ष पार गरेको उपलक्ष्यमा आयोजित स्वर्ण महोत्सवलाई सम्बोधन गर्दै उनले विद्यालयमा अध्ययनरत आर्थिक अवस्थाबाट कमजोर रहेका विद्यार्थीका लागि सो रकम उपलब्ध गराउने घोषणा गरेका हुन् ।
आर्थिक अवस्थाका कारण कुनै पनि विद्यार्थी पढनबाट बञ्चित हुन नपरोस भन्ने ध्येयले आफूले पाउने एक वर्ष बरावरको कुल तलब उक्त विद्यालयलाई प्रदान गरिने नगरप्रमुख महर्जनले बताएका छन् । अहिलेको जमानामा शिक्षा विना कुनै पनि विकास निर्माण दिगो हुन नसकिने भएकोेले शिक्षामा लगानी प्रचुर मात्रामा हुनु पर्नेमा उनको जोड दिएका छन् । राज्यले शिक्षा क्षेत्रमा प्रदान गरिदै आएको बजेटलाई सही मार्गमा सदुपयोग गरी गुणस्तर शिक्षा ल्याउनमा शिक्षक–शिक्षिकाको महत्वपूर्ण भूमिका रहने उनको भनाई रहेको छ ।
विशेष गरी निजी विद्यालयको जस्तो गुणस्तर शिक्षा सामुदायिक विद्यालयले दिनुपर्नेमा जोड दिए । सामुदायिक विद्यालयको स्तर वृद्धिका लागि नगरपालिकाले शिक्षा नियमवाली ल्याएको प्रमुख महर्जनले बताएका छन् ।
उनले नियमवालीभित्र टेकेर नगरक्षेत्रका हरेक विद्यालयले आफ्नो क्रियाकलाप गरिनुपर्ने जानकारी गराएका छन् । सोही विद्यालयका पूर्व विद्यार्थी समेत रहेका नगरप्रमुख महर्जनले विद्यालय सुधारका लागि समयानुकूल आवश्यक कदम चालिनुपर्ने समेत बताएका छन् । स्वर्ण जयन्तीको अवसर पारेर विद्यालयले प्रत्येक कक्षाका प्रथम, द्धितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कृत गरेको थियो । सोही अवसरमा विद्यालयमा आयोजित विभिन्न खेलकुदमा सहभागी विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको छ ।
यसै गरी विद्यालयले नगरप्रमुख गजेन्द्र महर्जनलाई मायाको चिनो प्रदान गरेको थियो । स्वर्ण जयन्तीमा समुदायका अभिभावक, बुद्धिजीवि, समाजसेवी, पूर्व विद्यार्थी, नागरिक समाजलगायत शुभचिन्तकहरुको उपस्थिति रहेको विद्यालयका अध्यक्ष रविन्द्र महर्जनले जानकारी गराए ।