कृषकका खेतबारीको माटो परीक्षण शिविर सुचारु

काभ्रेपलाञ्चोक, वैशाख २६ । आफ्नो क्षेत्रमा व्यावसायिकरूपमा खेती गराउन चौँरीदेउराली गाउँपालिकाले कृषकका खेतबारीको माटोको परीक्षण शिविर सुचारु गरेको छ । सो गाउँपालिकाले केन्द्रीय कृषि प्रयोगशाला ललितपुरको सहयोगमा दोलालघाटमा तीनदिने माटो परीक्षण शिविर प्रारम्भ गरेको हो ।

गाउँपालिकाका अध्यक्ष दीननाथ गौतमले कृषकलाई माटो परीक्षणको रिपोर्टअनुसार मलको प्रयोग, मौसम अनुकूलका बाली तथा बाली लगाउने विधि जानकारी गराउने उद्देश्यले कृषकको जमीनको माटो परीक्षण शुरु गरिएको जानकारी गराएका छन् ।

सबै वडाको विभिन्न स्थानबाट नमूनाका रुपमा १५० कृषकको माटो परीक्षण गरिने अध्यक्ष गौतमले बताए । उनले व्यावसायिकरूपमा तरकारी खेती गर्न चाहने कृषकलाई माटो परीक्षणले ठूलो सहयोग पुग्ने र त्यसमा हामी पनि सहयोग गर्ने जिकिर समेत गरेका छन् ।” उनका अनुसार माटो परीक्षणका फाइदाबारे गाउँपालिकाले सबै वडावासीलाई जानकारी गराएपछि नमूनाका रूपमा माटो परीक्षण गर्न पठाएका छन् ।

भुम्लु गाउँपालिकाले आफ्नो क्षेत्रका कृषकको खेतबारीको माटोको परीक्षण यस अघि गराएको थियो । उक्त गाउँपालिकाले काभ्रेपलाञ्चोक जिल्लामा पहिलोपटक एक हप्ताको अवधिमा आफ्नो १० वडाका कृषकको नमूनाका रूपमा माटो परीक्षण गरेको थियो ।

गाउँपालिका अध्यक्ष गुमानध्वज कुँवरले प्राप्त जानकारी अनुसार मौसमअनुसार व्यावसायिक कृषि गराउन कृषकसँग छलफल भइरहेको जनाएका छन् ।

उनले कृषकको जीविकोपार्जनमा सहयोग तथा कृषि पेशाबाटै आत्मनिर्भर बन्न हौसला दिलाउने उद्देश्यले हाल गाउँपालिका–१ रिठ्ठेका कृषकलाई नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को सहयोगमा उन्नत जातको गहुँको बीउ वितरण गरिएको जानकारी दिए ।