सरकारद्वारा नेपालीकरण बन्दसँगै सेवाग्राहीमा मर्का

काठमाडौं, जेष्ठ २ । ‘स्मार्ट’ चालक अनुमतिपत्रमा सरकारले नेपालीकरण गर्ने कार्य रोक्दा सेवाग्राही मर्कामा परेका छन् । यो सेवा बन्द भएको जानकारी नहुँदा दैनिक सेवाग्राही कार्यालय आएर दुःख पाउने गरेका छन् । ]

एकान्तकुनास्थित प्रदेश नं ३ यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र कार्यालयका अनुसार सरकारले गत भदौमा यो सेवा बन्द गरे पनि दैनिकजसो सेवाग्राही आइरहेको जानकारी गराएको छ । यही कार्यालयबाट ‘स्मार्ट’ चालक अनुमतिपत्र वितरण सरकारले शुरु गरेसँगै अन्य देशको ‘स्मार्ट’ चालक अनुमतिपत्रलाई नेपालीकरण गर्दै आएको थियो ।

कार्यालका प्रमुख डम्बरबहादुर चन्दका अनुसार कार्यालयले अहिले कूटनीतिक नियोगका कर्मचारीको मात्रै चालक अनुमतिपत्र नेपालीकरण गरिरहेको छ । नेपालीकरणका लागि आउने सेवाग्राहीमा अध्ययन वा रोजगारीका लागि विदेश बसेर फर्किएका नेपाली धेरै रहेको उनले बताएका छन् ।

कतिपय सेवाग्राही नेपालीकरण छैन भनेपछि फर्किए पनि कतिपय विवाद गर्ने गरेको उनको भनाइ छ । अहिले पनि दैनिक दुईदेखि चारसम्म सेवाग्राही नेपालीकरण गर्ने भन्दै आइरहेका छन् । नेपालीकरण खुलाउनका लागि प्रदेश नं ३ को भौतिक पूर्वाधार विकास मन्त्रालयले पनि चासो देखाएको छैन । गत वर्ष असोजमा यातायात व्यवस्था कार्यालय प्रदेश सरकारलाई हस्तान्तरण गरिएको थियो ।