गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले अर्थतन्त्रको रक्षा र विकास गर्नका लागि आर्थिक अपराधमा संलग्न तस्कर र भ्रष्टाचारीलाई तत्काल नियन्त्रण एवम् निस्तेज गर्नु पर्ने जरुरी रहेको औंल्याएका छन् । गृहमन्त्री थापाले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा आयोजना गरिएको प्रथम समूहको रणनीतिक तथा नेतृत्व विकास तालिमको समापनका क्रममा अपराधमा संलग्न तस्कर र भ्रष्टाचारीलाई कानुनी राज्यमा कुनै हालतमा छाड्न नहुने बताएका हुन् ।
सरकारले राज्य व्यवस्थालाई उल्ट्याउन खोज्ने तत्वलाई समेत निस्तेज र नियन्त्रण गर्ने सरकारको नीति रहेको स्पष्ट जानकारी गराएका छन् । सरकारले अपराधमा संलग्न जो कोहि भए पनि खोजि खोजि कार्वाहि प्रक्रियालाई अधि बढाएको उनले सुनाए । अपराध गरेर सरकारलाई छल्न सक्छु भनने कोहि अपराधिले सोच नबनाए हुन्छ भन्दै गृहमन्त्री थापाले भने, केहि समय लुकेर या भागेर छुट्कारा मिल्नेवाला छैन् ।
राष्ट्रिय अनुसन्धान विभागका सहअनुसन्धान निर्देशक र उपअनुसन्धान निर्देशकहरुको लागि उक्त तालिम सञ्चालन भएको हो । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सवै सुरक्षा निकायले निर्वाह गर्नुपर्ने आआफ्नो भूमिका अक्षरस पालना गरी फिल्डमा उतार्न प्रहरी संगठन सदैव प्रतिबद्ध रहेको जानकारी गराएका थिए ।
मुलुकमा सीमावर्ती अपराध, प्रविधिको दुरुपयोगबाट सिर्जित अपराध एवम् राष्ट्रिय सुरक्षाको बिषयमा बिभिन्न चुनौतीहरुको सामना गर्न सवै सुरक्षा संयन्त्रले एकिकृत रुपमा समन्वय गर्दै कार्ययोजना निर्माण गर्न आवश्यक रहेको खनालले जोड दिएका छन् । जनताको शान्ति सुरक्षा प्रति आफु सधै चिन्तित भएर काम गरिरहेको बताउँदै उनले सबै प्रहरी अनुशासित भएर काम गर्नु पर्नेमा जोड दिएका छन् ।