काठमाडौं, जेष्ठ २६ । सरकारले विकासको प्राथमिकता छुट्याउन नसकेको नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन् । वरिष्ठ नेता पौडेलले तनहुँ जिल्लामा सञ्चालित पहिलो चरणको एक महीने कार्यक्रमको शनिबार दमौलीमा नेपाली काङ्ग्रेसको राष्ट्रिय जागरण अभियानअन्तर्गत समापन गर्दै सरकार कुहिरोको कागजस्तै भएको आरोप लगाएका छन् ।
नेता पौडेलले विकास र समृद्धिको मेरुदण्ड लोकतन्त्र र सुशासन भएकोमा जोड दिँदै अहिले देशलाई लोकतन्त्र र सुशासनको आवश्यकता परेको समेत जानकारी गराए ।
नेता पौडेलले काङ्ग्रेसको नीतिले गर्दा मुलुक आज यो अवस्थामा आइपुगेको दाबी गरेका ह न् । गाउँमा नै बसौँबसाँै बनाउने काङ्ग्रेसको अभियान अझै पूरा नहुने बताउँदै उनले गाउँमै रोजगारी र आम्दानीको अवसर सिर्जना गर्न सके मानिस गाउँबाट पलायन नहुने विचार व्यक्त गरेका छन् ।
काङ्ग्रेसले जनतालाई साथमा लिएर भ्रष्टाचार र कुशासनविरुद्धको आन्दोलन शुरु गर्ने भन्दै पौडेलले त्यसका लागि जनता जागरुक हुनुपर्ने बेला आएको स्पष्ट पारे । उनले दोस्रो चरणको अभियान प्रचारमुखी होइन, सङ्गठनमुखी हुनुपर्छ, तल्लो तहदेखि नै काङ्ग्रेसलाई मजबुत बनाउने सशक्त अभियान दोस्रो चरणमा आउँदै गरेको समेत बताएका छन् ।
देशको नेतृत्व गर्न सक्ने सक्षम पार्टीको रुपमा काङ्ग्रेस पुनःजीवित हुने दाबी कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले व्यक्त गरे । तनहुँका दश स्थानीय तहमा वैशाख २५ गतेदेखि शुरु भएको जागरण अभियानअन्तर्गत कार्यक्रम सम्पन्न भएको थियो ।