कांग्रेससँग कम्युनिष्ट डराएर पार्टी एकता गरे : नेता थापा

अक्षाम, जेठ २७ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता गगनकुमार थापाले कम्युनिष्टहरुले कांग्रेससँग डराएर पार्टी एकिकरण गरेको बताएका छन् । उनले जहिले पनि कांग्रेसको शक्ति देखेर कम्युनिष्टहरु सल्बलाउने र आतिने गरेको आरोप लगाएका छन् ।

अक्षाम जिल्लाको रामारोशन गाउँपालिकाको मुजाबगरमा आइतबार भएको आमसभालाई सम्बोधन गर्ने क्रममा नेता थापाले अक्षाम बलियो पार्टी भएका कारण मात्रै नेकपा एमाले र नेकपा माओवादी केन्द्र डराएर एकता गरेको आरोप लगाएका छन् । नेता थापा कांग्रेस जनताको पार्टी भएकाले अब जनताले कांग्रेसलाई नै साथ दिने कुरामा दुइ मत नभएको जिकीर गरेका छन् ।

उनले नेता तथा कार्यकर्तालाई नआत्तिएर सशक्त रुपमा अघि बढ्दै तमाम कार्यकर्ताको कुरा सुन्न र काम गर्न आग्रह गरेका छन् । वर्तमान अवस्थामा दुई पार्टी मिलेर बहुमतको सरकार बनाएर आफ्ना कार्यकर्तालाई माथि पुर्याउने बाहेक तमाम नागरिकका केहि काम गर्न नसकेको र देशमा केही परिवर्तन गर्न नसकेको नेता थापाले आरोप लगाएका छन् ।

पूर्व मन्त्री समेत रहेका वर्तमान सांसद एवम् कांग्रेसका प्रखर वक्ता थापाले वर्तमान सरकारले ल्याएका कार्यक्रम जनमैत्री नभएको उल्लेख गरेका छन् । उनले युवालाई विदेशिनबाट रोक्न ठूला उद्योग र कलकारखाना सञ्चालनका लागि विशेष जोड दिन सरकारसँग आग्रह गरेका छन् । सरकारले देशको जनशक्तिलाइृ सदुपयोग गर्दै विदेशिने क्रममा रहेका युवालाई वदेशमा नै काम गर्ने वातावरणको सिर्जना गर्नु पर्ने उनको भनाई थियो ।