काठमाडौं, असार २० । राजधानीमा बाटिक मेला आज सम्पन्न हुँदै छ । इन्डोनेशियाली दूतावास र नेपालस्थित इन्डोनेशियाली अवैतनिक वाणिज्यदूतको कार्यालयद्वारा आयोजित सो मेला राजधानीको दरबारमार्गस्थित होटल अन्नपूर्णमा बिहीबारबाट शुरु भएको हो । नेपालका लागि इन्डोनेशियाली राजदूत रिनो पि सोएमर्माे र नेपालका लागि इन्डोनेशियाली अवैतनिक वाणिज्यदूत चन्द्रप्रसाद ढकालले मेलाको संयुक्तरूपमा उद्घाटन गरेका हुन् ।
आजसम्म सञ्चालन हुने उक्त मेलामा इन्डोनेशियाली बाटिकद्वारा निर्मित पहिरनहरु राखिएको उक्त कार्यक्रमको सह–आयोजक आइएमइ समूहले जानकारी गराएको छ । मेलामा बाटिक कपडाका सौखिनहरुका साथै नेपालमा रहेका इन्डोनेशियाली समुदायका नागरिक र नेपाल तथा इन्डोनेशियाका ट्राभल एजेन्सीहरुको पनि सहभागिता रहने जनाइएको छ । मेलाको उद्घाटन कार्यक्रममा नेपालका लागि इन्डोनेशियाली राजदूत सोएमर्माेले इन्डोनेशिया र नेपालको सम्बन्धको घनिष्ठताको चर्चा गरेका थिए ।
इन्डोनेशिया नेपालको एक हितैषी राष्ट्र हो भन्दै उहाँले यी दुई देशबीच धार्मिक, सांस्कृतिक लगायतका धेरै क्षेत्रमा असल सम्बन्ध रहिआएको स्पष्ट पारेका छन् । नेपालका लागि इन्डोनेशियाली अवैतनिक वाणिज्यदूत ढकालले नेपाल र इन्डोनेशियाबीचको असल सम्बन्धको चर्चा गर्दै पछिल्लो समयमा इन्डोनेशिया र विशेषगरी सो स्थानको बाली टापू नेपाली पर्यटकहरुको एक आकर्षक गन्तव्य बनेको जानकारी गराएका थिए ।
उनका अनुसार दुई देशबीचका सांस्कृतिक समानताहरुलाई जनस्तरमा पुर्याउन र एकले अर्का देशका पर्यटकहरुलाई आफ्नो देशमा स्वागत गर्नका लागि गएका केही वर्षयतादेखि यस्ता सांस्कृतिक आदानप्रदानका कार्यक्रमहरु जारी राखिएको छ । पछिल्लो समयमा यी दुई देशका नागरिक एक अर्काे देशमा पर्यटकका रूपमा भित्रिने संख्यामा उल्लेख्य वृद्धि भएको र यसले आगामी दिनमा नेपालमा इन्डोनेशियाली लगानी आकर्षित गर्न मद्दत पुग्ने ढकालले बताएका छन् ।
उद्घाटन कार्यक्रममा इन्डोनेशियाको कला र संस्कृति झल्किने खालका विविध सांस्कृतिक कार्यक्रम तथा इन्डोनेशियाली बाटिकबाट निर्मित पहिरनहरुको ‘फेसन सो’ पनि प्रस्तुत गरिएको थियो ।