काठमाडौं, भाद्र २६ । तत्कालीन वाइसिएल नेपाल र युवा संघ नेपालबीचको एकता अन्तिम चरणमा पुगेको जनाइएको छ । एकता प्रक्रियालाई अन्तिम रुप दिनका लागि शुक्रबार राष्ट्रिय युवा संघ नेपालको पदाधिकारीको संयुक्त बैठक बोलाइएको छ । संघको बुधबार बसेको बैठकले साविक युवा संघ नेपालबाट १७६ र साविक वाइसिएल नेपालबाट १५५ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरेको छ ।
बैठकले चार जना सदस्य पछि मनोनीत गर्ने निर्णय गरेको छ । यस्तै केन्द्रीय समितिको एक तिहाइले हुन आउने १११ सदस्यीय सचिवालयमा साविक वाइसिएल नेपालबाट ५२ र युवा संघ नेपालबाट ५७ सदस्य चयन गर्ने सहमति भएको छ । बैठकले केन्द्रीय कार्यालयको नौ सदस्यका लागि साविक युवा संघ नेपालबाट पाँच र वाइसिएलबाट चार सदस्य गर्ने निर्णय गरेको छ । बैठकले सङ्गठनको केन्द्रीय कार्यालय पेरिसडाँडामा रहने टुङ्गो लगाएको छ ।
संघको प्रस्तावित मस्यौदा विधान बैठकले पारित गरेको छ । सात प्रदेशमध्ये तीनमा वाइसिएल र चारमा युवा संघले सङ्गठनको नेतृत्व गर्नेगरी नेतृत्वको विषयलाई टुङ्ग्याइएको छ । त्यस्तै ७७ जिल्लामध्ये ४२ जिल्लामा युवा संघ र ३५ जिल्लामा वाइसिएलले सङ्गठनात्मक जिम्मेवारी लिनेछ । संयोजक रामप्रसाद सापकोटाले शुक्रबार पेरिसडाँडामा केन्द्रीय कार्यालयको उद्घाटन तथा पदभार ग्रहणको कार्यक्रम राखिएको जानकारी गराएका छन् ।