काठमाडौं, असोज २८ । गत शनिबारदेखि नेपालबाट मनसुनको निस्कासनसँगै देशभर चिसो बढ्नेक्रम तिव्र छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले मनसुनी वायु बाहिरिएसँगै न्यूनतम र अधिकतम तापक्रम घट्दै जान बताएका छन् । मौसमविद् नगरकोटीले नेपाली वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडोयाम शुरु हुने समेत जानकारी गराएका छन् ।
महाशाखाद्वारा पश्चिमी भू–मध्यसागरबाट उच्च वायुमण्डलमा न्यूनचापीय क्षेत्र बनी उत्पन्न भएको बादल तथा अरब सागरबाट उत्पन्न वायुको प्रभावले गर्दा उपत्यकासहित देशभर चिसो बढ्ने गरेको बताइएको छ । मौसमविद्ले मनसुन बाहिरिएसँगै अब तापक्रम घट्दै जाने र पानी नपर्नै स्पष्ट पारेका छन् ।
सिजनल इफेक्टले गर्दा न्यूनतम तापक्रम तलमाथि भइरहने बताइएको छ । यसवर्ष पनि तापक्रम घटेपछि उपत्यकामा बढी चिसो भएको अनुभव गरिएको छ । दिउँसोपख घाम लागेता पनि बिहान र बेलुकाको समयमा भने चिसो हुने गरेको पाइउको छ । महाशाखाद्वारा अबको केही दिन बिहानीको समयमा हुस्सु र कुहिरोका कारण हवाई तथा सडक यातायातमा समेत सामान्य अवरोध आउनसक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरिइएको छ ।
आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १४ दशमलव ५ डिग्री र अधिकमत तापक्रम २७ दशमलव ३ डिग्री सेल्सियस रहेको महाशाखाको पछिल्लो विवरणअनुसार पाइएको छ । सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ७ दशमलव ५ डिग्री सेल्सियस र सबैभन्दा बढी धनगढीको अधिकतम तापक्रम ३२ दशमलव ७ डिग्री सेल्सियस रहेको बताइएको छ ।