काठमाडौं, भदौ । आज १० औँ पुस्तकालय दिवस र्याली निकाली मनाइएको छ । उक्त दिवसको अवसरमा आज बिहान भृकुटीमण्डपबाट शुरु भएको प्रभातफेरी शहिदगेट, रत्नपार्क, कमलादी हुँदै कमलपोखरीमा पुगी सम्पन्न गरिएको छ ।
शिक्षा मन्त्रालय, पुस्तकालय दिवस मूल समारोह समितिको आयोजनामा र्याली निकालिएको हो । उक्तर्यालीमा ‘पढ्ने संस्कृतिको विकास गरौं’ ‘एक स्थानीय तह एक पुस्तकालय’ ‘पुस्तक ज्ञानको भण्डार’ जस्ता नारा लिएर र्याली गरिएको थियो । र्यालीमा शिक्षा मन्त्रालयका उच्च अधिकारीसहित विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।
र्यालीपछि कमलपोखरीस्थित रुसी सांस्कृतिक केन्द्रमा उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठको विशेष कार्यक्रम आयोजना गरिने मन्त्रालयकी प्रवक्ता सरस्वती पोखरेलले जानकारी दिइन् । ‘जीवनपर्यन्त शिक्षाका लागि एक स्थानीय तह एक नमूना पुस्तकालय’ भन्ने मूलनाराका साथ पुस्तकालय दिवस मनाइएको छ।
नेपालमा पठन संस्कृतिको विकास गर्नका लागि २०६५ सालदेखि पुस्तकालय दिवस मनाइँदै आइरहेको छ । दिवस मनाउनका लागि मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ । अहिले नेपालमा करिब एक हजार पुस्तकालयहरु रहेका छन् ।