कांग्रेसले आचारसंहिताबारे आज तीन बजे आयोगको ध्यानाकर्षण गराउने

काठमाडौं, कार्तिक २९ । निर्वाचन आयोगका गतिवीधिमा असन्तुष्ट बनेको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आयोगको ध्यानाकर्षण गराउने भएको छ । कांग्रेसको ‘अनुगमन तथा निर्वाचन आयोग समन्वय समिति’ ले निर्वाचन आचारसंहिताका बारेमा निर्वाचन आयोगको ध्यानाकर्षण गराउने भएको हो ।

केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा गठित समन्वय समितिले शुक्रबार आयोगको नेतृत्वलाई भेटेरै आचारसंहिताका बारेमा ध्यानाकर्षण गराउने तयारी भइरहेको जनाइएको छ । सरकारले बहुमतको आडमा आयोगलाई पनि राजनीतिकरण गर्न खोजेको संकेत कांग्रेसले यस अघि नै गरिसकेको छ ।

सोही कुरालाई मध्यनजर गर्दै संयोजक लेखकले शुक्रबार उपनिर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, धांधलीरहित एवं भयरहित वातावरणमा सफलतापूर्वक सम्पन्न गर्नका लागि आयोगका पदाधिकारीलाई भेटेरै ध्यानाकर्षण गराउन लागिएको जानकारी गराएका छन् । कांग्रेसको समन्वय समिति र आयोगका पदाधिकारीबीच दिउँसो दिउँसो ३ बजे छलफल हुने कार्यक्रम तय भएको उनले सुनाए ।

यसअघि कांग्रेसले केही दिन अघिमात्र पत्रकार सम्मेलनको आयोजना गरेर प्रदेश प्रमुखको बर्खास्तगी र नियुक्तिमा निर्वाचन आचारसंहिता नमिचिएको भनेर निर्वाचन आयोगले दिएको प्रष्टकरणप्रति ध्यानाकर्षण भएको जनाएको थियो । संयोजक लेखकले आजको छलफलमा समितिले आयोगसँग आचारसंहिता जारी भएपछि सरकारले प्रदेश प्रमुखहरुको बर्खास्ती र नयाँ नियुक्तिका विषयमा पनि पार्टीको धारणा राख्ने जानकारी गराएका छन् ।

लेखकको संयोजकत्वमा रहेको समितिले निर्वाचन आयोगबाट जारी गरिएको आचारसंहिताको पालना तथा प्रभावकारी कार्यान्वयन भए नभएको अनुगमनसँगै उपनिर्वाचनमा सुरक्षा व्यवस्था पर्याप्त भए नभएको हेर्ने बताइएको छ । समितिले उपनिर्वाचन हुने सबै जिल्लामा पार्टीको स्थानीय तहमा अनुगमन तथा स्थानीय निर्वाचन कार्यालय समन्वय समिति गठन गरेर आवश्यक निर्देशन दिने अधिकारसमेत पाएको छ ।

निर्वाचन आचारसंहिताको परिच्छेद—४ को ९ मा ‘नयाँ पद सृजना गर्न या रिक्त पद पूर्ति गर्न’ समेत नपाइने प्रष्ट व्यवस्था उल्लेख गरिएका भए पनि कर्मचारीका हकमा मात्रै भन्ने तर्क दिएर आयोगले उन्मुक्ति खोज्नु नैतिक दृष्टिले सतप्रतिशत गलत हुने कांग्रेसको ठहर छ । समितिले उपनिर्वाचनको क्रममा पार्टीको उम्मेदवार, निकाय र सदस्यहरुबाट निर्वाचन कानुन र आचारसंहिता तथा पार्टी विधानको परिपालना हुने अवस्था सुनिश्चित गर्ने र अन्य पार्टी वा उम्मेदवारबाट निर्वाचन सम्बन्धी कानुन वा आचारसंहिता उल्लंघन भएमा उचित कानुनी कारवाहीका लागि आवश्यक प्रक्रिया अपनाउने बारे जानकारी गराइएको छ ।

साथै उपनिर्वाचनलाई स्वतन्त्र, निश्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न उचित सुरक्षा व्यवस्थापनको अवस्था हेरी समितिले निर्वाचन आयोग र सम्बन्धित निकायको ध्यानाकर्षण र समन्वय गर्ने, उपनिर्वाचनमा पार्टीका सम्बन्धित निकाय, उम्मेदवार र सदस्यहरुलाई पार्टीका पक्षमा प्रचारप्रसार गर्न, बढीभन्दा बढी मतदातालाई मतदान गर्न उत्प्रेरित गर्ने, स्वच्छ, स्वतन्त्र रुपले मतदान कार्य सम्पन्न गर्न र मतगणना लगायतका कार्य व्यवस्थित गर्न क्रियाशील गर्ने पनि समितिले जिम्मेवारी पाएको छ ।