काठमाडौं, मसिंर २ । नेपाल सरकारले नयाँ ट्याक्सी दर्ता गर्ने प्रक्रियालाई अघि बढाएको छ । एक हजार २०० अश्वक्षमताको र त्योभन्दा बढीका ट्याक्सीको दर्ता गर्न अध्ययन भइरहेको जनाइएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले यात्रुलाई सुविधायुक्त सवारीसाधन आवश्यक रहेको ठहर गर्दैै नयाँ ट्याक्सी दर्ता खुलाउन तयारीलाई तिब्रता दिइएको जानकारी गराएका छन् ।
सडकमा अहिले गुडि रहेका ट्याक्सीहरु निकै पुराना भएकाले ती पुराना ट्याक्सीलाई हटाउँदै नयाँ र सुविधायुक्त ट्याक्सी ल्याउनु तयारी भएको उनले सुनाए । सडकमा कस्ता र कति क्षमताका ट्याक्सी आवश्यक छन् भनी अध्ययन गरिसके पछि ट्याक्सी थपिने विभागले जनाएकोछ । ट्याक्सीको दर्ता नियमितरूपमा खुलाउनेभन्दा पनि केही समयका लागि खुलाइने तयारी भएको उनले सुनाए । उनले केही समयका लागि र सीमित संख्यामा नयाँ ट्याक्सी दर्ता गर्ने प्रक्रिया अघि बढाइने जानकारी गराएका छन् ।
सरकारले लामो समयदेखि ट्याक्सीको दर्ता बन्द गरेकामा भूकम्पीडितलाई राहत दिने भन्दै विसं २०७२ भूकम्पीडित जिल्लावासीका लागि ट्याक्सीको दर्ता खुलाएको थियो । अहिले सडकमा रहेका ट्याक्सीमध्ये अधिकांश ८०० सिसिक्षमता बराबरका छन् । सिट पनि साँघुरो र कम क्षमताको हुँदा यात्रुलाई असहज रहेको भन्दै विभागले नयाँ सुविधा युक्त ट्याक्सी दर्ता गरिने बताइएको छ ।