काठमाडौं, मंसिर ३ । यातायात व्यवस्था विभागले आज र बुधबार ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइ नगर्ने जानकारी गराएको छ । अहिले विभागमा सञ्चालनमा रहेका छपाइ उपकरणबाट ठूलो क्षमताको छपाइ उपकरण (मास प्रिन्टर) मा रहेको तथ्याङ्क भण्डार (डाटाबेस) मा सार्नका लागि सेवा अवरुद्ध गर्न लागिएको जनाइएको छ ।
विभागका महानिर्देशक गोगनबहादुर हमालले सवारी चालक अनुमतिपत्र प्रणाली पुरानो सर्भरबाट नयाँमा सार्नेका लागि दुई दिन सेवा दिन असमर्थ रहेको बताएका छन् । विभागले हतारमा रहेका सेवाग्राहीलाई चाँडो छपाइ (फास्ट प्रिन्टिङ) सेवा दिँदै आएकोमा त्यो पनि यी दुई दिन अवरुद्ध हुने जनाइएको छ ।
दुई दिनमा तथ्याङ्कसम्बन्धी सम्पूर्ण काम सकिने विभागको भनाई छ । महानिर्देशक हमालले बिहीबारदेखि नै नियमितरुपमा सेवा दिइने तयारी भइरहेको जनाएका छन् । उनले दुई महिना पहिले ल्याइएको ‘मास प्रिन्टर’ जडान सकिएसँगै अहिले ‘सफ्टवेयर’ को काम भइरहेको बताएका छन् । सो उपकरणको प्रतिघण्टा पाँच छ सयसम्म कार्ड छाप्ने सक्ने क्षमता रहेको छ ।
एक वर्ष पहिले आवेदन दिएका सेवाग्राहीले समेत अनुमतिपत्र नपाइरहेकामा ‘मास प्रिन्टर’ ले काम गर्न थालेसँगै सो समस्या हट्ने विश्वास गरिएको छ । विभागले विदेश जानका लागि वा स्वदेशमा विभिन्न कारणवश जति सक्दो छिटो छपाइ चाहिने अवस्थाका सेवाग्राहीलाई एक सातामा नै चालक अनुमतिपत्र उपलव्ध गराउँदै आएको थियो । विभागले अनुमतिपत्र छपाइको गति बढ्ने भएकाले सरकारले दश लाख कार्ड खरीद प्रक्रियासमेत अघि बढाएको थियो ।