दाङ, मंसिर ५ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता दीपक बोहराले भारतले सीमा मिचेको विषयमा सरकार गम्भीर बन्नुपर्नेमा जोड दिएका छन् । रिपोर्टर्स क्लब दाङले बिहीबार तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता बोहोराले भारतले लिम्पियाधुरा, लिपुलेक, कालापानी मिचेर नक्सा सार्वजनिक गरेको भन्दै यसमा सरकार गम्भीर बन्नुपर्ने औंल्याएका छन् । उनले भने, पहिलोपटक सर्वदलीय बैठकले सरकारलाई समर्थन गरेको छ, यस्तो अवस्थामा पनि सरकारले भारतसँग वार्ता गर्न सकेको छैन ।
नेता बोहोराले अहिले नेपालमा जबरजस्ती धर्म परिवर्तन गर्ने ठूलो गिरोह सक्रिय भएको भन्दै यसले धर्मयुद्ध निम्त्याउन सक्ने खतरा रहेको बताएका छन् । धर्मका नाममा व्यापार गर्ने, धर्मको प्रचार प्रसार गर्न ठूलो धन राशी खर्च गर्ने लगाएतका कार्यले नेपालमा ठूलो नोक्सानी हुन सक्ने उनले संकेत गरेका छन् । नेता बोहराले पूर्वराजालाई पनि संविधानको परिधिमा ल्याउनुपर्नेमा जोड दिएका छन् ।
सोही कार्यक्रममा आफ्ना धारणा राख्ने क्रममा राप्रपाका महामन्त्री राजेन्द्र लिङदेलले यस उपनिर्वाचन ‘मिनी’ जनमतसङ्ग्रह भएको बताएका छन् । महामन्त्री लिङदेलले वर्तमान सरकारले गरेका काम र प्रतिपक्षले निर्वाह गरेको भूमिकाको मूल्याङ्कन गर्न उपनिर्वाचनको भूमिका महत्वपूर्ण हुने जानकारी गराएका छन् । जनताको सरकारले जनताको हितमा कती काम गर्न सफल भयो त भन्ने कुरा समेत यस निर्वाचनलेृ पुष्टि गर्ने उनले सुनाए ।
महामन्त्री लिङदेलले राप्रपा, नेकपा र कांग्रेसको विकल्पको रुपमा आएको समेत दावी गरेका छन् । उक्त कार्यक्रममा राप्रपाको तर्फबाट दाङ क्षेत्र नं ३ को प्रदेशसभा २ का उम्मेदवार भुपाल रावतले आफूले यस क्षेत्रमा जित हासिल गरेमा यस क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् ।