रमा लुइटेल
ललितपुर, मंसिर ९ । अपरान्ह ललितपुर महानगरपालिकाको बगैंचामा भिन्न माहौल थियो । एक सय बालबालिका महानगरका प्रमुख चिरीबाबु महर्जनसँग थिए । उनीहरुले प्रमुखलाई धेरै प्रश्न गरे । सार्वजनिक सवारीसाधनको अस्तव्यस्ततादेखि विद्यालयको जग्गा मिचिएको विषयसम्म उनीहरुले उठाए ।
विद्यार्थी रेशमा महत्ताले सार्वजनिक यातायातको दुर्दशाबारे प्रश्न सोधिन् । उनले भनिन्, ‘प्रत्येक बिहान हामी सार्वजनिक यातायातमा झुण्डिएर कोचिएर यात्रा गर्छौ, कसरी हाम्रो दिन सफल हुन्छ ?’ रेशमाको प्रश्नमा प्रमुख महर्जनले जवाफ दिए । प्रमुख महर्जनले भने, ‘ ट्राफिक व्यवस्थापनको समस्या धेरै छ , यसलाई व्यवस्थित गर्न हामीले ठूला बसहरु भित्रियाउने योजना बनाएका छौं ।’
वातावरण संरक्षणका लागि महानगरले के गर्दैछ ? भन्ने रेशमाको प्रश्नमा प्रमुख इलेट्रिक सवारीसाधन भित्रियाउन लागेको बताए । उनले वैशाखको पहिलो साता महानगरको भित्री सडकमा साना इलेट्रिक सवारीसाधन गुड्ने बताए । त्यत्तिमात्रै होइन, उनले सडकको दुईतिर विरुवा रोपेको जानकारी दिए । उनले भने, बाग्मती पुल कटेपछि सडकको दुई छेउमा रोपेका बिरुवा हलक्कै बढेका छन्, त्यसको संरक्षणको लागि पानी हाल्ने ट्याकर महानगर किनेको छ ।’ उनले रिडरोडमा तीन हजार बिरुवा रोपको बताए ।
जनउदय माध्यमिक विद्यालयकी छात्रा दिक्षाघर्ती मगरले नगरप्रमुखलाई यो प्रश्न गर्दा केही क्षण सन्नाटा छायो । दिक्षाको प्रश्न थियो, म कक्षा दशमा पढ्छु , तर मलाई पढाउने मावि शिक्षक एक जना मात्रै हुनुहुन्छ । उनको विद्यालयमा माध्यमिक शिक्षकको दरबन्दीमा एक जना मात्रै शिक्षक रहेछन् ।
दिक्षालाई पढाउने अन्य शिक्षकहरु निमावि र प्रावि दरबन्दीका शिक्षक रहेछन् । उनले प्रमुखलाई सोधिन्, प्राविमा पढाउने शिक्षकले माध्यमिक तहलाई पढाएपछि कसरी रिजल्ट राम्रो आउँछ ? प्रमुख महर्जन उनले प्रश्न गरेपछि नगरप्रमुख अवाक भए । र जवाफ दिए, यो समस्या म जतिसक्दो छिटो गर्छु ,त्यस्तो अवस्था भोग्नु पर्दैन ।
खोकनाको रुद्रायणी विद्यालयमा पढ्ने विद्यार्थीले सोधिन् । ‘ खोकनाको रुद्रायणी मन्दिरलाई भूकम्पले जीर्ण बनाएको छ, त्यो भत्किए विद्यार्थी र स्थानीयमा क्षति पुग्न सक्छ त्यस तर्फ ध्यान दिने कि ? ’ ती विद्यार्थीको संवेदनशीलता देखेर उपस्थित सबै भावुक भए । नगरप्रमुख महर्जनले यो मन्दिरको पुनर्निर्माण सुरु भइसकेको बताए । ललितपुर महानगरका सातवटा विद्यालयका बालबालिकासँग तीन घण्टा बिताएका नगरप्रमुख चिरीबाबु महर्जनले झण्डै पचास प्रश्नको जवाफ दिए ।