काठमाडौं, पुष १ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरले नेताहरुको जिम्मेवारी बाँडफाँट गर्ने कार्यलाई तदारुकताकासाथ अघि बढाएको छ । प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचन क्षेत्र, दश वटै स्थानीय तह, विभिन्न विभागीय जिम्मेवारी र सङ्गठनतर्फको जिम्मेवारीसमेत नेकपाले प्रदान गरेको छ ।
नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला सहइञ्चार्ज रामेश्वर रानाले आयोजना गरेको पत्रकार सम्मेलनमा ‘समृद्ध नेपाल, सुखी नेपाली’को अवधारणा पूरा गर्ने गरी जिम्मेवारी बाँडफाँट गरिएको उनले सुनाए । लोकतन्त्रलाई आत्मसात् गरेर काम गर्न आग्रह गर्दै उनले देश र जनताका लागि सबै एक हुनुपर्नेमा जोड दिएका छन् ।
पार्टीले स्थानीय तहस्तरकोे प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने बताउँदै जिल्ला अध्यक्ष मुनु सिग्देलले स्थानीय तहहरुले निर्वाचन घोषणापत्रमा उल्लेख गरिएअनुसारका कार्य गर्नुपर्ने औल्याएका छन् ।