आयल निगम घाटा मुक्त हुन सफल भएको छ : प्रबक्ता गोइत

काठमाडौं, पुस ३ । मेकानिकल ईन्जिनियर वीरेन्द्र गाईत नेपाल आयल निगमको निर्देशक तथा प्रबक्ता हुनुहुन्छ र निगममा सेवा प्रवेश गरेको पनि २३ वर्ष भइसकेको छ । वितेको २३ वर्षमा उहाँले निगमका सहज र विषम दुबै अवस्थाको अनुभव गरिसक्नु भएको छ । त्यसैले उहाँ भन्नुहुन्छ–अर्बौ घाटा ब्यहोर्न बाध्य नेपाल आयल निगम त्यो सबै चुक्ता गरेर बल्ल पारबिन्दुमा पुगेको छ । उनै गोइतसंग निगमको पछिल्लो अवस्थाका बारेमा लोकसत्ता डटकमका लागि तयार पारिएको अन्र्तवार्ताको महत्वपूर्ण अंशः

नीतिगत र व्यवस्थापकीय दृष्टिकोणबाट नेपाल आयल निगमको वर्तमान अवस्था कस्तो छ ?

नेपाल सरकार, उपभोक्ता र सरोकारवालाहरु सबैको सहयोग र प्रविधिको सहायताले धेरै वर्षपछि बल्ल नेपाल आयल निगम घाटा मुक्त हुन सफल भएको छ । विगतमा निगम धेरै वर्ष अर्बौ घाटामा चल्ल बाध्य थियो । विगत दुई वर्ष यतादेखि भने सो समस्या छैन र विगतमा भएका सबै बित्तीय घाटाबाट हाल नेपाल आयल निगम लि.लाई मुक्त गराउन हामी सफल भएका छौं र वित्तीय र प्रशासकीय व्यवस्थापकीय दृष्टिकोणमा निगम एकदम स्वस्थ छ । अझ पेट्रोलियम पदार्थको ढुवानी पाइपलाइनबाट हुन थालेपछि त नियमित आपूर्ति झन सहज बनेको छ ।

यद्यपि पेट्रोलियम पदार्थको पाइपलाईबाट आपूर्ति भइरहे पनि सुरक्षित छैन भन्ने सुन्नमा आइरहेको छ । त्यसको वास्तविकता के हो ?

त्यो केही नबुझेका व्यक्तिहरुले भन्ने कुरा हो । सुरक्षा वा आपूर्ति दुबै कोणबाट कुनै समस्या छैन । जुन बेला जति चाह्यो, त्यति नै बेला मांग भए जति पेट्रोलियम पदार्थको आपूर्ति भइरहेको छ । ढुवानीको कुनै समस्या नै छैन । हिजो जस्तो सीमा नाकाहरुमा पनि केही समस्या छैन । सुरक्षाकै मात्र कुरा गर्ने हो भने पनि पेट्रोलियम पदार्थको भण्डारण स्थलमा आवश्यक सुरक्षाको व्यवस्था गरिएको छ । चौबिसैघण्टा सुरक्षाकर्मीहरुले त्यहाँ पहरा दिइरहेका हुन्छन् ।

बजार र उपभोक्ता दुबै निश्चित र सुरक्षित भएको एकलौटी कारोबार गर्ने आयल निगम घाटामा जानुको कारण के हो ?

त्यसका अनेक कारणहरु हुन सक्छन् । बजारबाट महङ्गोमा खरिद गरेर जनतालाई सहुलियत दरमा इन्धन आपूर्ति गर्नुपर्र्ने जिम्मेवारी पाएको संस्था घाटा जानुमा एउटा मात्र कारण हुन सक्दैन । संस्था घाटा जानुको कारणहरु खोतल्दै जाने हो भने गहिरो अध्ययन गर्नु पर्ने हुन्छ । त्यो अवस्था पनि अहिले रहेन । विगतका सबै घाउहरु कोट्याउनु भन्दा पनि निगमले विगत दुई वर्षदेखि सहज रुपमा इन्धनको आपूर्ति गर्न सकिरहेको छ, यो नै ठूलो उपलब्धी हो । देशभरि नै बिना रोकावट सहज रुपमा इन्धन आप्रर्तिको काम गर्न सक्नु भनेको हाम्रो लागि धेरै ठूलो उपलब्धी हो ।

निगम घाटामा जानुको मुख्य कारण ओभर स्टाफिङ्ग हो भनिन्छ । यसमा तपाईको के धारणा छ ?

विगतमा के थियो, त्यतातिर म जान चाहन्न । तर हाल यो अवस्था छैन । दैनिक अर्बौंको कारोबार गर्ने नेपाल आयल निगममा हाल केवल ५ सयको हाराहारीमा कर्मचारी कार्यरत रहेको अवस्था छ । ओभर स्टाफिङ्ग होइन बरु कम कर्मचारीबाट बढी काम गराउनु परेको अवस्था छ ।

बेलाबेलामा आयल निगमले धान्नै नसक्ने गरी राजनीति दबाबमा कर्मचारी भर्ना गर्न बाध्य हुने गर्छ भन्ने सुनिन्छ । के यो सत्य हो ?

होइन, शतप्रतिशत गलत कुरा हो । नेपाल आयल निगमको प्रशासकीय बाहेकका सबै पदहरु प्राविधिक हुन्छन् । प्राविधिक पदहरुमा राजनीतिक तोकको भरमा मात्र नियुक्ति पाउने कुरा कल्पनै गर्न सकिंदैन । सम्बन्धित विषयमा ज्ञान र सीपले दक्ष व्यक्तिले मात्र प्राविधिक पदहरुमा दाबी गर्न सक्छ । तर ज्ञान र सीपले दक्ष व्यक्ति कसैको निगाहमा बाँच्न चाहँदैन । प्रविधि, ज्ञान र सीपको विकाससंगै राजनीतिक नियुक्तिको विषय पनि गौण हुँदै गएको छ ।

निगमका मुख्य चुनौतिहरु के के हुन् ?

निगमका मुख्य चुनौतिहरु पेट्रोलियम पदार्थको आपूर्ति भन्दा पनि भण्डारण क्षमता नै हो । खपतको तुलनामा हामीसंग भण्डारण क्षमता अत्यन्तै कमी छ । अहिलेकै अवस्था भन्नुपर्दा पनि निगमले केवल ८ दिनका लागि मात्र आवश्यक पेट्रोलियम पदार्थको भण्डारन गर्न सक्छ । बीचमा त्यो भन्दा बढी धान्नुपर्ने कुनै समस्या आयो भने त्यसको सामना गर्न सक्ने क्षमता हामीसंग छैन । यो नै निगमको प्रमुख चुनौति हो भने एल.पी. ग्यासको त नेपालमा भण्डार गर्ने व्यवस्था नै छैन । नेपालमा जति एल.पी. ग्यासको आपूर्ति हुन्छ, त्यो सबै छिमेकी राष्ट्र भारतबाट ट्यांकरमा ल्याएको हो ।

निगमले आत्मनिर्भर हुन किन पेट्रोलियम पदार्थको अन्वेषण र उत्खनन् गर्न सकिरहेको छैन ?

पेट्रोलियम पदार्थको अन्वेषण र उत्खनन् गर्न नेपाल आयल निगमलाई अधिकार दिएको छैन । त्यो काम खानी तथा भू–गर्व विभागले मात्र गर्न पाउँछ । भन्न सकिंदैन भविश्यमा त्यो जिम्मेवारी निगमले पनि पाउन सक्छ । हाल निगमले पाएको अधिकार भनेको पेट्रोलियम पदार्थको खरिद र बिक्री मात्र हो । त्यो जिम्मेवारी पाएपछि निगमले पनि सोच्ने छ ।