दाङ, पुष ६ । दाङ खाद्यान्नमा आत्मनिर्भर देखिएसँगै वार्षिक एक लाख १५ हजार १७९ मेट्रिक टन खाद्यान्न खपत हुँदै आएको छ । दाङमा अहिले वार्षिक एक लाख २३ हजार ५८१ मेट्रिक टन खाद्यान्न उत्पादन भएको स्रोतले जनाएको छ । कृषि ज्ञान केन्द्रका सहायक सूचना अधिकारी फिर्तुमान चौधरीले जिल्लामा अनुमानित जनसङ्ख्या छ लाख ३६ हजार ३४९ रहेकोे बताउँदै सोहीअनुसार खाद्यान्न आवश्यक पर्ने जानकारी दिएका छन् । उनका अनुसार दाङमा वार्षिक एक दशमलव ७८ प्रतिशतका दरले जनसङ्ख्या वृद्धि भएको छ ।
उनले दाङमा हरेकव्यक्ति १८१ किलोग्रामका दरले खाद्यान्न आवश्यक हुने गरेको र बचतका हिसाबले आठ हजार ४०१.८३ मेट्रिक टन बचत हुँदै आएको समेत बताए । सहायक सूचना अधिकारी चौधरीले प्रतिव्यक्ति ०.०१ मेट्रिक टन खाद्यान्न बचत हुने गरेको स्पष्ट पारे ।
जिल्लामा अहिले उत्पादन हँुदै आएको खाद्यान्न बाहिरसमेत पठाइने गरेको छ । उनले कृषि पेशामा जिल्लाका नागरिक आत्मनिर्भर भइरहेको हुँदा यहाँ उत्पादित वस्तु बाहिर निर्यात हुने गरेको जिकिर गरे । अहिले जिल्लामा मुख्य खाद्यान्नका रूपमा धान, मकै, गहुँ, कोदो, जौ, फापर लगाएभन्दा ज्यादा उत्पादन हुँदै आएको छ ।
ज्ञान केन्द्रले दाङको समथर भागमा विशेष गरेर अहिले धान उत्पादन हुने गरेको छ । माथिल्लो भेगमा कोदो, फाफर, जौ तथा देउखुरी क्षेत्रमा मकै बढी उत्पादन हुने गरेका जानकारी दिएको छ । बचत भएको उत्पादित वस्तु निर्यातमा समस्या नभएको समेत बताइएको छ । आफ्नै घरआँगनबाटै बचत खाद्यान्न बिक्री–वितरण गर्दै आएको कृषकले बताएका छन् । सहायक सूचना अधिकारी चौधरीले जिल्लामा खाद्यान्न बढ्दै गएको हुनाले भविष्यमा पनि खाद्यान्नमा समस्या नहुने बताएका छन् ।