क्याम्पाडाँडामा शुरु भयो बाँध निर्माण कार्य

हेटौँडा, पुस १६ । हरेक वर्ष वर्षायामको समयमा करीब ७०० घर डुबानमा पार्ने हेटौँडा उपमहानगरपालिकाको क्याम्पाडाँडामा रु एक करोड २५ लाखको लागतमा बाँध निर्माणकार्यको थालनी भएको छ । बाढी–पहिरोबाट हरेक वर्ष हुने डुबान र पहिरोबाट मुक्त पार्न उपमहानगरपालिकाले क्याम्पाडाँडाबाट गर्दोसम्म बाँध निर्माण गर्न लागिएको हो । उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले जनताको सेवा, सुरक्षा तथा विकास गर्नु आफ्नो दायित्व रहेको बताउँदै जनतालाई बाढीपहिरोबाट सुरक्षित गर्न आफू गम्भीर रहेको बताएका छन् ।

उनले सो स्थानको संरक्षण र सम्वद्धनका आफु निकै जिम्मेवार रहेको जनाएका छन् । क्याम्पाडाँडाका रामबहादुर विष्टले ढिला भए पनि उपमहानगरपालिकाले शुरु गरेको यो काम सराहनीय भएको र छिटो सम्पन्न गरिनुपर्नेमा जोड दिएका छन् । सो क्षेत्रका जनाताले हेटौँडा कर्राखोलाबाट वर्षायाममा हुने डुबान समस्या समाधान गर्न माग गर्दै आएका छन् । यसैबीच मकवानपुर क्षेत्र नं २ मा चालू आर्थिक वर्षमा सङ्घीय सरकारको लगानीमा छ ठूला पक्की पुल निर्माणकार्य शुरु भएको छ । सङ्घीय सरकारले चालू आवको बजेटमार्फत छ पुल निर्माण गर्न लागेको हो ।

पुल अभावका कारण समस्या झेल्दै आएका स्थानमा मकवानपुर क्षेत्र नं २ का सांसद विरोध खतिवडाको विशेष पहलमा पक्की पुल निर्माण गर्न लागिएको हो । स्थानीय क्षेत्रमा खोला तर्न वर्षौँदेखि समस्या भोग्दै आएका नागरिकको सहुलियतका लागि सङ्घीय सरकारले उक्त पुल निर्माण गर्न लागेको हो । कैलाश गाउँपालिकाका राम हुमागाईँले सङ्घीय सरकारको करीब रु एक अर्बको लागतमा छ स्थानीय तहमा उक्त पुल निर्माण गर्दा हजारौँ नागरिकलाई फाइदा पुग्ने जानकारी गराएका छन् । केही पुलको बोलपत्र आह्वान भइसकेको छ भने केहीको निर्माणकार्य शुरु भएको छ ।