बनेन् पाँच महिनामा पनि नेकपा विभागहरु

काठमाडौं, माघ ९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय विभागहरुले नेतृत्व टुङ्ग्याएको पाँच महिना बितिसक्दा पनि पूर्णता भने पाउन सकेका छैनन् । विभाग टुङ्ग्याउँदै एकीकरण प्रक्रियाले लगभग सकाएको नेकपा विभागलाई पूर्णता दिनेमा भने अझै अलमलमा छ । विभागका प्रमुख, उपप्रमुख र सचिवसहित बढीमा ३५ सदस्यीय कमिटी रहने भनिए पनि अहिलेसम्म गठन हुन नसक्दा विभागले कामसमेत गर्न सकेको छैन । नेकपाका ३२ विभागले पूर्णता नपाएसँगै करीब एक हजार १२० नेता–कार्यकर्ताले जिम्मेवारी पाएका छैनन् ।

पटक पटक छलफल हुँदै अनिर्णित रहेकामा गत साउन ३१ गतेको सचिवालय बैठकले ३२ विभागका प्रमुख र उपप्रमुख चयन गरेको थियो । विभागहरुले पार्टी कार्यालय र महासचिव विष्णुप्रसाद पौडेललाई विभागका सदस्यको विवरण उपलब्ध गराए पनि सचिवालय बैठकले अनुमोदन नगरेको कारणले पूर्ण नभएका हुन् । पार्टी केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालले अहिलेसम्म २० विभागका सदस्यको विवरण प्राप्त भएको जानकारी दिनुभयो । उहाँका अनुसार विदेश मामला, कोष तथा आर्थिक व्यवस्थापन, पुस्तकालय तथा अभिलेख, खानेपानी तथा सरसफाइ, स्कुल विभागलगायतले सदस्य विवरण बुझाइसकेका छन् । प्रचार तथा प्रकाशन विभागका उपप्रमुख सूर्य थापाले आफ्नो विभागलाई चाँडै पूर्णता दिइने बताउनुभयो ।

उहाँले सचिवालय बैठकले नामलाई अनुमोदन गरेपछि प्रचार विभागले पूर्णता पाउने बताउनुभयो । प्रचार विभागका प्रमुखमा पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ हुनुहुन्छ जो अहिले राष्ट्रियसभा सदस्यमा उम्मेदवार बन्नुभएको छ । । नीति अनुसन्धान प्रतिष्ठान विभागमा प्रमुख झलनाथ खनाल र उपप्रमुखमा रामचन्द्र झा, विदेश मामला विभाग प्रमुखमा माधवकुमार नेपाल तथा उपप्रमुखमा सुरेन्द्र कार्की र विष्णु रिजाल, स्कूल विभाग प्रमुखमा ईश्वर पोखरेल र उपप्रमुखमा देवेन्द्र पौडेल, सङ्गठन विभाग प्रमुखमा वामदेव गौतम र उपप्रमुखमा जनार्दन शर्मा एवं अर्थ तथा योजना विभागमा सुरेन्द्रप्रसाद पाण्डे र उपप्रमुखमा डोरप्रसाद उपाध्याय रहनुभएको छ ।

विदेश विभागका उपप्रमुख कार्कीले विभागका सदस्यको नामावली पार्टीलाई बुझाइएको जानकारी दिनुभयो । पार्टीले बुझाएको विवरणका आधारमा सचिवालय बैठकले नामवलीलाई अनुमोदन गर्दै विभागलाई पूर्णता दिने उहाँले बताउनुभयो । स्कूल विभाग उपप्रमुख पौडेलले मोटामोटी रुपमा विभागका सदस्यको नाम पार्टीमा पेश गरिएको बताउनुभयो ।
युवा तथा खेलकूद विभागका उपप्रमुख ठाकुर गैरले विभाग गठनसम्बन्धी कुनै छलफल नभएको बताउनुभयो ।

प्रादेशिक मामला विभाग प्रमुखमा घनश्याम भुसाल र उपप्रमुखमा परशुराम तामाङ, कृषि तथा भूमिसुधार विभाग प्रमुखमा चक्रपाणि खनाल र उपप्रमुखमा हरि पराजुली, राजकीय मामला तथा सुशासन विभाग प्रमुखमा रामबहादुर थापा र उपप्रमुखमा गुरूप्रसाद बराल एवं शिक्षा तथा मानवस्रोत विभाग प्रमुखमा गिरिराजमणि पोखरेल र उपप्रमुखमा विजय पौडेल रहनुभएको छ ।