बेखारत्नको सम्झनामा श्रद्धाञ्जली सभा सम्पन्न

ललितपुर, फागुन १८ । ललितपुर महानगरपालिकाले तत्कालिन उपमहानगरपालिकाका मेयर बेखारत्न शाक्यको १३ पुण्यतिथिको अवसरमा शुक्रवार ललितपुरमा श्रद्धाञ्जली सभा आयोजना गरिएको थियो । सभाका सहभागिले शाक्यको तस्वीरमा माला र फूलको गुच्छा अर्पण गर्दै श्रद्धा सुमन व्यक्त गरेका थिए ।

शाक्यको फागनु ४ गते निधन भएको थियो । वि सं २०४९ सालमा सम्पन्न भएको निर्वाचनमा तत्कालिन उपमहानगरको प्रमुखमा निर्वाचित भएका थिए । पाँच वर्षको कार्यकालमा उनले ललितपुरलाई सफा सहर बनाउनका लागि केन्द्रित भएर काम गरेका थिए ।

श्रद्धाञ्जली सभामा राष्ट्रिय सभाका सांसद धना खतिवडाले शाक्य सत्यवादी नेता भएको बताइन् । जीवन छँदा गरेका कामले मृत्युपछिसम्म पनि सबैको सम्झनामा रहने बताउँदै शाक्य सम्पूर्ण ललितपुरबासीको मनमस्तिष्कमा रहेको स्पष्ट पारिन् ।

ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले शाक्य ललितपुरको प्रमुख हुँदा आफू वडा अध्यक्ष भएर काम गरेको अनुभव सुनाए । प्रमुख महर्जनले भने, उहाँले छक्का पन्जा थिएन, सत्यमा अडिक हुनुहुन्थ्यो, निस्वार्थ काम गर्नुहुन्थ्यो ।’ काम गर्न प्रेरित गर्ने शाक्यसँग काम गर्दा रमाइलो अनुभव संगालेको छु ।

शाक्यको सम्मानमा महागरले यस्ता सभा मात्रै आयोजना गर्नु पर्याप्त नभएको बताउँदै प्रमुख महर्जनले कार्यपालिकाको बैठकबाट निर्णय गरेर शाक्यको नाममा विशेष काम गर्ने योजना बनाएको जानकारी गराएका थिए । ललितपुर महानगरपालिकका उपप्रमुख गीता सत्यालले शाक्य सत्यमा अडिक हुने नेता भएको जनाएकी थिइन् ।

उनले बेखारत्न शाक्यसँग लामो समय संगठनमासँगै काम गरेको बताएकी थिइन् । शोक सन्तप्त परिवारप्रति धैर्य धारणको कामना समेत गरेकी थइन् । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अमर बहादुर क्षेत्री , शाक्यसँग काम गरेका वडा अध्यक्ष सानुकाजी महर्जन लगायतको उपस्थिति थियो ।