माया पन्त
जाजरकोट २६, भदौ । भाईरल ज्वरोले जाजरकोट कुशे गाँउपालिकामा एक बालकको ज्यान गएको छ । कुशेगाँउपालिका ५ जहरगाँउका जनकबहादुर थापाका चार बषिय छोरा ओमप्रकाश थापाको सोमवार उपचारको क्रममा ज्यान गएको हो ।
भाईरल ज्वरोले दुई दिन देखि थलिएका बालकलाई विहान एक घण्टा टाढा साँधिविसाउनमा रहेको रामबहादुर सिंहको मेडिकलमा उपचारको लागि लगिएको थियो । अन्तिम अवस्थामा उपचारको लागी ल्याईएकोले बचाउन नसकिएको अहेव सिंहले बताउनु भयो ।
भाईरल ज्वरोकोे प्रकोप गाँउभरी फैलिएको स्थानीय दलबहादुर थापाले जानकारी दिनु भएको छ । जहरगाँउका साथै खुर्पा, तर्पेना, समाकोट लगायतका गाँउमा ज्वरोका विरामी बढेका छन् । घरै पिच्छे ज्वरोका विरामी रहेका छन् । गाँउमा उपचारको भरपर्दो ब्यवस्था नहुँदा झारफुक र धामीझाँक्री गर्न गाँउलेहरु बाध्य भएको स्थानिय थापाको भनाइ छ । विरामीहरु अन्तिम अवस्थामा मात्र उपचारका लागी निजी मेडिकल जाने गरेका छन् ।
बिरामीहरुमा घाँटी दुख्ने, कडा ज्वरो आउने, टाउको दुख्ने, नाकबाट पानी बग्ने, आँखा रातो हुने रोगको लक्षण देखा परेको थापाले बताउनु भयो । स्वास्थ्य संस्थाहरुमा भाइरल ज्वरोका विरामीको चाप बढेको स्वास्थ्यकर्मीहरुले जनाएका छन् । ज्वरोबाट यसअघि बारेकोट गाउँपालिका ३ मुलसाममा २ जना बालकको ज्यान गएको थियो ।